समाज


महाराष्ट्र रेल दुर्घटनाः मृत्यु भएका नेपालीको संख्या ७ पुग्यो

अछामका ४, कैलालीका २ र बाँकेका १ जना
महाराष्ट्र रेल दुर्घटनाः मृत्यु भएका नेपालीको संख्या ७ पुग्यो

घटनास्थल


नेपालखबर
माघ ११, २०८१ शुक्रबार १४:४६, काठमाडौँ

यही माघ ९ गते (जनवरी २२) साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका नेपालीको संख्या ७ पुगेको छ। 

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको नाम सार्वजनिक गरेको हो। 

मन्त्रालयका अनुसार दुर्घटनामा ४३ वर्षीया कमला नवीन भण्डारी (कैलाली), ४० वर्षीय लछिराम पासी (कैलाली), ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा (मंगलसेन, अछाम), ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा (मंगलसेन, अछाम), ६० वर्षीय जोक्ला उर्फ कला कामी (कमलबजार, अछाम) र ३२ वर्षीय राधेश्याम राध (डँडुवा, बाँके) को मृत्यु भएको हो। 

यस्तै दुर्घटनामा घाइते भएका ४ जना नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको हो। यो रेल दुर्घटना बुधबार साँझ भएको हो। 

१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा रोकियो। 

यहीबीच रेलमा आगो लागेको हल्ला फैलियो। जसबाट आत्तिएर यात्रुहरू रेलको डिब्बाबाट धमाधम अर्काे लिकमा हाम फाल्न थाले। यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँ दिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुँइकिएर आउँदै थियो। जसमा किचिन पुगे हाम फालेका यात्रुहरू।‍

प्रत्यक्षदर्शी मुम्बईका ट्याक्सी चालक साबिर र लखनऊका राजीव शर्माले भनेका छन्, ‘हामी पुष्पकको स्लिपर कोचमा थियौँ। रेल रोकिएपछि म बाहिर निस्किएँ। केही मानिसहरू दौडिरहेका थिए र चिच्याइरहेका थिए- आगो लाग्यो, बाहिर निस्किनुहोस्। हाम्रो डिब्बामा पनि आतंक थियो। सबै महिला र केटाकेटी तल ओर्ले र भाग्न थाले। मेरो साथी पनि लडेर घाइते भयो। यसैबीच अगाडिबाट एउटा रेल आयो र मानिसहरूलाई कुल्चँदै गयो।’

एक वरिष्ठ रेलवे अधिकारीले दिएको प्रारम्भिक जानकारीअनुसार पुष्पक एक्सप्रेसको कोच भित्र ‘तातो एक्सल’ वा ‘ब्रेक–बाइन्डिङको कारणले गर्दा झिल्काहरू निस्किएका थिए। जसका कारण केही यात्रु आत्तिए र तल हाम फाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad