समाज


सशस्त्र प्रहरीमा एकैपटक ३ डीआईजी बढुवा गर्न प्रधानको अवकाश कुरिँदै

२ रिक्त दरबन्दीमा ५ महिनादेखि रोकियो बढुवा
सशस्त्र प्रहरीमा एकैपटक ३ डीआईजी बढुवा गर्न प्रधानको अवकाश कुरिँदै

एसएसपीहरू मनिष थापा, कृष्ण ढकाल, दिपेन्द्र कुँवर र डीआईजी किशोर प्रधान


उजिर कार्की
माघ ३, २०८१ बिहिबार २१:३१, काठमाडौँ

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा पाँच महिनादेखि रोकिराखेको छ। हाल दुईजनाको दरबन्दी रिक्त रहेकामा अझै एकजना डीआईजीको अवकाशपछि मात्रै एकसाथ तीनजना डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाइने भएको छ।

यही महिना डीआईजी किशोर प्रधान अनिवार्य अवकाश हुने भएका छन्। उनको अवकाशपछि मात्रै डीआईजीमा बढुवा गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। बढुवा समितिको सिफारिसमा गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्ने व्यवस्था छ।

माघ २४ गतेदेखि ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति किशोर प्रधान अनिवार्य अवकाश हुनेछन्। उनी डीआईजीमा थपिएको एक वर्षे पदावधि पनि पूरा गरेर अवकाश हुन लागेका हुन्। गत वर्ष माघ २३ मै चार वर्षे पदावधि पूरा भए पनि प्रधानको एक वर्ष पदावधि थप गरिएको थियो। 

माघ २३ गतेसम्ममा अतिरिक्त महानिरीक्षकमा बढुवा हुने सम्भावना नभएकाले उनी अवकाश हुन लागेका हुन्। उनको अवकाशपछि मात्रै तीनजना डीआईजीको बढुवा हुने भएको हो। 

गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त भएको थियो। तर रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको छ। डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएका थिए। 

डीआईजी र एआईजीको दरबन्दी थप गर्ने प्रयास भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि रोकिएको थियो। सशस्त्र प्रहरीमा एकजना डीआईजी र एकजना एआईजी थपका लागि प्रस्ताव गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्हरीमा एकसाथ दरबन्दी थपको प्रस्ताव भए पनि अर्थ मन्त्रालयले दुवै प्रहरीमा तत्काल दरबन्दी थप गर्न स्वीकृति दिएन।

दरबन्दी थप गर्ने प्रयास असफल भएपछि नेपाल प्रहरीमा भने धमाधम बढुवा गरिएको छ। यता सशस्त्र प्रहरीमा भन्दै प्रधानको अवकाशपछि मात्रै बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ। 

रिक्त हुने तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ। प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएका छन्। 

नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हुन्। तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ। 

यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन्। कमान्ड क्षमतामा कमजोर रहेको भन्दै उनलाई यसअघि बढुवा गरिएको थिएन। 

सिसं १ का मनिष थापा र कृष्ण ढकाल डीआईजीमा बढुवा हुने बलियो सम्भावना छ। उनीहरूकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी उनीहरूकै ब्याची हुन्। 

एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन्। सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो। तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो। त्यसपछि मात्रै ढकाल पास भएका थिए। 

अहिले उनीहरू दुईजनाको डीआईजी बन्ने सम्भावना बलियो छ। सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डीआईजीमा बढुवा हुने सम्भावना भने कम छ। उनीभन्दा पछाडिका एसएसपी डीआईजी बन्ने सम्भावना बलियो देखिएको छ। 

सिसं २ बाट पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका दिपेन्द्र कुँवर डीआईजी बन्ने सम्भावना बलियो देखिएको हो। कुँवरलाई डीआईजी बनाउनकै लागि सशस्त्र प्रहरीमा लामो समयदेखि डीआईजी बढुवा नगरी राखिएको हो। 

सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदी लगायत पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर मनिष थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवरको बढुवा हुँदा अरु छुट्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad