स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेले थुनछेक बहसको अन्त्यमा आफै बोल्न खोजे।
उनका पक्षका ५ जना कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस भएको थियो। बहस सकिएपछि रवि आफै बोल्नका लागि इजलासमा अघि बढे।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनले अनुरोध गरे, ‘श्रीमान् मलाई ५ देखि ६ मिनेट दिइयोस्। म बोल्छु। लामो हुँदैन।’
न्यायाधीशले उनलाई बोल्न अनुमति दिएनन्। ‘अब छोड्दिऊँ, नगरौँ।’
‘होइन श्रीमान्, म ६ देखि ६ मिनेटभन्दा बढी लिन्नँ,’ रविले जोड गरे।
त्यसपछि न्यायाधीश केहीबेर सुन्न थाले।
रविले आफ्नै नागरिकता ब्युँताउने प्रक्रिया नमिल्दा सर्वोच्च अदालतले खारेज गरिदिएको प्रसंग झिकेर भने, ‘श्रीमान् यो मुद्दाको प्रक्रिया मिलेको छैन। सामान्य प्रक्रिया नमिल्दा के हुन्छ भन्ने कुराको ज्युँदो नजिर यहीँ खडा छु। मेरो नागरिकताको प्रक्रिया नमिल्दा खारेज भएको थियो। यो मुद्दा पनि खारेजभागी छ।’
त्यसपछि न्यायाधीशले फेरि भने, ‘भयो ल। अब तपाईँले बोल्न थाले अर्को पक्षले पनि समय माग्ला। कुरै अर्कोतिर जान्छ।’
न्यायाधीश अधिकारीले रविका पक्षबाट प्रशस्त कुरा आइसकेको जानकारी पनि दिए। ‘तपाईँले बयानमा बोलिसक्नुभएको छ। तपाईँका तर्फबाट विद्वान् कानुन व्यवसायीज्यूले सबै कुरा भनिसक्नुभएको छ।’
त्यसपछि रविले भने, ‘हस् श्रीमान्।’
बहस सकिएपछि न्यायाधीशले सबैलाई इजलासबाहिर पठाएका छन्। उनी आदेश लेख्दै छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो।
अब न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेर आदेश गर्नेछन्।
Shares

प्रतिक्रिया