आज (पुस २९ गते) साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भयो। पुस २३ गते बिहान मात्र बेस्सरी हल्लिएको काठमाडौँ त्यसको ५ दिनपछि फेरि थोरै थर्किएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सोमबार साँझ ६ बजेर ४२ मिनेट (नेपाली समय) मा तिब्बतको डिङ्गी काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको परकम्प जाँदा त्यसको धक्का काठमाडौँसम्म महसुस भएको हो।
पुस २३ गते बिहान पनि तिब्बतमै ६.८ म्याग्निच्युडको भूकम्प जाँदा कोसी र मधेस प्रदेशका विभिन्न जिल्लासँगै काठमाडौँ उपत्यकामा पनि गतिलै धक्का महसुस भएको थियो। उक्त भूकम्पका कारण तिब्बतमा १२६ जनाको मृत्यु भयो भने १८८ जना घाइते भए।
आज (पुस २९) समेत गर्दा नेपालमा पुसभित्र मात्रै भूकम्पका २३ धक्का महसुस भएको छ। केवल २८ दिनभित्र भूकम्पका १२ धक्का गएका हुन्।
पुस २ देखि २९ गतेसम्म कहिले कहिले भूकम्पको धक्का?
-पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प
-पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प
-पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
-पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प
-पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प
-पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
-पुस १२ गते कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प
-पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
-पुस १८ गते सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प
-पुस १९ गते मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प
-पुस २३ गते तिब्बत केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प, जसको धक्का नेपालसम्म
-पुस २९ गते तिब्बतमा ५.६ म्याग्निच्युडको परकम्प, जसको धक्का काठमाडौँसम्म
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्नसक्छ। यसभन्दा साना भूकम्प त नेपालमा औसत रूपमा दिनमै १० पटकसम्म जान्छन्।
Shares

प्रतिक्रिया