समाज


महाभूकम्पको जोखिममा पश्चिम नेपाल

महाभूकम्पको जोखिममा पश्चिम नेपाल

बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले गरेको क्षति। तस्बिर : रासस


डा. लोकविजय अधिकारी
असोज १७, २०८० बुधबार १४:१६, काठमाडौँ

सुदूरपश्चिमको बझाङमा मंगलबार (१६ असोजमा) गएको भूकम्प मझौला खालको भूकम्प हो। हामीले ८ रेक्टरस्केलभन्दा माथिको भूकम्पलाई मात्रै ठूलो अथवा महाभूकम्पका रुपमा बुझ्नुपर्छ।

बझाङमा गएको भूकम्प ६.३ रेक्टर स्केल मापन गरिएको छ। ६ देखि ७ रेक्टर स्केलको भूकम्पलाई मझौला भूकम्प भनिन्छ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्प पृथ्वीको करिब १० किमी गहिराइमा गएको अनुमान छ। ०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प पृथ्वीको सतहबाट करिब १३ किलोमिटरको गहिराइमा गएको थियो। 

पश्चिम नेपालमा विगत पाँचसय वर्षदेखि ठूलो भूकम्प गएको छैन। त्यसैले पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलो अथवा महाभूकम्प जाने सम्भावना प्रवल छ। पश्चिम नेपालको पृथ्वीको गर्भभित्र त्यो शक्ति संचित भएर बसेको छ। 

मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्पले त्यो शक्तिलाई क्षय गरेको छैन भनेर ठोकुवा गरेर त भन्न सकिन्न, तर त्यो सम्भावना एकदमै न्युन छ। 

किनभने हिजोको भूकम्प मझौला खालको मात्रै हो। भूकम्पमा एक रेक्टर स्केल मात्रै फरक पर्यो भने पनि भूकम्पको शक्तिमा ३२ गुणा फरक पर्छ। 

यसलाई हामी यसरी बुझौँ, यदि ७ रेक्टरको भूकम्प जाने शक्ति पृथ्वीको गर्भमा कतै संचित छ र त्यहि ठाउँमा ६ रेक्टरको भूकम्प गयो भने त्यस्ता भूकम्प ३२ वटा गएपछि मात्रै ७ रेक्टरको भूकम्प जाने शक्ति ह्रास हुन्छ।

पृथ्वीको गर्भमा कतै ८ रेक्टरको भूकम्प जाने शक्ति संचित छ भने त्यो शक्ति क्षय हुन त्यहाँ सात रेक्टर स्केलका ३२ वटा भूकम्प जानुपर्छ। यसरी हेर्दा ६ रेक्टर स्केलको भूकम्प भन्दा ८ रेक्टर स्केलको भूकम्प १ हजार गुणाले ठूलो हुन्छ। शक्तिशाली हुन्छ। 

एउटै भूकम्पले पनि कतै कम र कतै बढी हल्लाउने पनि हुन सक्छ। भूकम्पले कम बेसी हल्लाउने विषय भने धेरै कुराले फरक पर्छ। भूकम्पको केन्द्रविन्दु आसपासका क्षेत्रमा धेरै र टाढा कम हल्लाउने हुन्छ। भौगोलिक अवस्थाले पनि त्यसमा फरक पर्छ। बलौटे माटोमा बढी र चट्टान भएको क्षेत्रमा कम हल्लाउने अथवा कम समय हल्लाउने पनि हुन्छ। 

पृथ्वीको धेरै गहिराइमा भूकम्प गयो भने माथि कम हल्लिने र क्षति कम हुने हुन्छ। भूकम्प जमिनको सतह नजिकै गयो भने बढी हल्लाउने र क्षति पनि बढी हुने सम्भावना रहन्छ। 

भूकम्पले हल्लाउने एउटा पाटो भयो, त्यसको म्याग्निच्युट भनेको त्यसको शक्ति हो। 

पश्चिम नेपालमा ठूलो अथवा महाभूकम्प नगएको करिब पाँचसय वर्ष भयो। अहिलेसम्म हामीलाई प्राप्त रेकर्डअनुसार वि.सं.१५०५ पछि पश्चिम नेपालमा महाभूकम्प गएको छैन। यसकै आधारमा पश्चिम नेपालमा महाभूकम्प जाने शक्ति पृथ्वीको गर्भमा संचित भएर बसेको छ भनिएको हो। 

वि.सं.१९९० साल माघ २ गते पूर्वी नेपाल केन्द्रविन्दु भएर ८.३ रेक्टर स्केलको भूकम्प गएको थियो। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। पछिल्लो समय नेपालमा ठूला भूकम्प पूर्वी र मध्य नेपालमा मात्रै गएका छन्। 

पूर्वी नेपालमै वि.सं.१२५५ मा पनि ठूलो भूकम्प गएको थियो। यसरी हेर्दा पूर्वी र मध्य नेपालमा ठूला भूकम्प गएका छन्। तर, गोरखाभन्दा पश्चिमको नेपालमा चाहिँ विगत पाँचसय वर्ष भन्दा लामो समयदेखि महाभूकम्प अथवा ठूलो गएको छैन। 

बझाङको सदरमुकाम चैनपुर नजिकै केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पले पनि केही मानवीय र भौतिक क्षति भएको छ। त्यो भूकम्प सानो भएर मात्रै कम क्षति भएको हो। 

बझाङमा गएको भूकम्पले गरेको क्षतिको आधारमा हेर्दा के देखिन्छ भने हाम्रा संरचनाहरु अझै पनि निकै कमजोर अवस्थामा छन्। त्यहाँ ढुंगामाटोले बनेका घर, पुराना र जिर्ण अवस्थाका, मापदण्ड विपरित बनेका संरचना बढी भत्किएका छन्। 

साना भूकम्प जाँदा पनि क्षति हुन्छ भने हामीले बुझ्नपर्छ, हाम्रा संरचना अत्यन्तै कमजोर प्रकृतिका रहेछन्। यसले हामीलाई संरचनाहरु मजबुद र नयाँ बनाउनुपर्छ भन्ने सन्देश दिएको छ। 

साना र मझौला खालका भूकम्प गइरहेका क्षेत्रमा ठूलो भूकम्प जान सक्ने सम्भावना भने हुन्छ। साना भूकम्प गइरहेको क्षेत्रमा ठूलो भूकम्प जाने शक्ति विद्यमान छ भन्ने चाहिँ निश्चित रुपमा भन्न सकिन्छ।

साना भूकम्पहरु गए भने ठूलो भूकम्प जान लाग्यो कि भन्ने त्रास पनि सर्वसाधारणलाई हुन सक्छ। तर, यसमा बुझ्नुपर्ने कुरा के छ भने सानो भूकम्पछि ठूलो भूकम्प जान्छ भन्ने निश्चित हुदैन। अथवा भूकम्प कतिबेला कत्रो जान्छ भन्न सकिँदैन। त्यो वैज्ञानिक प्रविधिको विकास विश्वमा भएको छैन। 

वि.सं.१९९० सालमा पूर्वी नेपालमा गएको महाभूकम्पको रेकर्ड हामीले विदेशबाट लिनुपर्छ। त्यतिबेला भूकम्पको रेकर्ड गर्ने प्रणालीको विकाससमेत हामीले गरिसकेका थिएनौँ। त्यतिबेला भारतको कलकत्ता, युरोप, अमेरिकाबाट त्यसको मापन भएको थियो भन्ने देखिन्छ। 

हामीले त वि.सं.२०३७ सालदेखि मात्रै भूकम्पको रेकर्ड गर्न थालेका हौँ। त्यतिबेला पनि बझाङमै गएको भूकम्प हामीले पहिलोपटक रेकर्ड गरेका थियौँ। त्यतिबेला हामीले नेपालमा एउटा मात्रै स्टेसन राखेर भूकम्प मापन सुरु गरेका थियौँ। यतिबेला त्यस्ता स्टेशन दर्जनौँ छन्। 

अझ भन्नुपर्दा हामीले राम्रोसँग भूकम्पको रेकर्ड गरेको भनेको वि.सं.२०४५ देखि मात्रै हो। अहिलेसम्म विश्वमा ९.५ रेक्टर स्केलसम्मको भूकम्प मात्रै रेकर्डमा छ। त्यसभन्दा माथिको भूकम्प गएको रेकर्ड विश्वमा छैन।

नेपालमा अहिलेसम्मको रेकडअनुसार ५० /६० किलोमिटर गहिराइसम्म भूकम्प गएको देखिन्छ। विश्वको कुरा गर्ने हो भने पृथ्वीको सतहबाट सातसय किमी गहिराइसम्म भूकम्प भएका रेकर्डहरु छन्। 

१९९० सालमा उदयपुर केन्द्रविन्दु भएर गएको भूकम्प पृथ्वीको झण्डै ६० किमी गहिराइमा गएको थियो। प्रायः १० देखि २०/३० किमी गहिराइसम्म धेरै भूकम्प जान्छन्। नेपालको हिमाली क्षेत्रमा जाने भूकम्प २०/२५ किमीको गहिराइसम्म गएका रेकर्डहरु छन्। 

नेपालमा किन भूकम्प गइरहन्छ ? 

भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा हेर्दा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा अवस्थित छ। हाम्रो काठमाडौं उपत्यका पनि हिमालय क्षेत्र नजिकै पर्छ। त्यसैले काठमाडौं उपत्यका पनि भूकम्पको जोखिम क्षेत्रमै अवस्थित छ। 

दक्षिणतिर अवस्थित इन्डियनप्लेट र उत्तरतिर अवस्थित युरेसिनय प्लेटको बीचमा नेपाल अवस्थित छ। वैज्ञानिकहरुका अनुसार यी दुई प्लेटको बीचमा पहिला समुन्द्र थियो भन्ने छ। करिब पाँच करोड वर्ष पहिला यी दुई प्लेट आपसमा जुधेका थिए। 

त्यतिबेला दक्षिणतिर अवस्थित समुन्द्र हरायो। त्यतिबेला इन्डियन प्लेट युरेसियम प्लेटको मुनी छिर्यो। त्यो छिर्ने क्रम आजपर्यन्त जारी छ। 

नेपालको हिमालय क्षेत्रको मुनी प्रतिवर्ष करिब दुई सेन्टिमिटरका दरले इन्डियन प्लेट युरेसियम प्लेटभित्र छिरिरहेको छ। त्यसरी एउटा प्लेट अर्को प्लेटमुनी छिर्दा जमिनबीच टकराव सिर्जना हुन्छ। छिर्न खोज्ने प्लेट त सजिकै भित्र छिर्न सक्दैन। चट्टानहरुको अवरोध छिचोल्दै छिर्नुपर्ने हुन्छ। चट्टान त्यसरी छिर्ने र रोक्ने प्रक्रियाले टकराव सिर्जना हुन्छ। 

त्यो टकराव जब एउटा बिन्दुमा पुग्छ अनि चट्टानहरु फुट्न थाल्छन्। एताउता चिप्लिन्छन्। त्यतिबेला त्यसको शक्ति भूकम्पको रुपमा पृथ्वीको सतहमा निस्कन्छ। 

चट्टानहरुले एकअर्काको दबाब थेगुन्जेल भूकम्प जाँदैन। जब दबाब थेग्न सक्दैनन् र चट्टान फुट्न थाल्छन्, अनि त्यो शक्ति भूकम्पको रुपमा बाहिर आउँछ। पृथ्वीभित्रका दुई प्लेटबीचको त्यो शक्ति भूकम्पको रुपमा क्षिण भएपछि मात्रै त्यो ठाउँ पहिलाको अवस्थामा फर्किन्छ। नेपाल अथवा हिमालय क्षेत्रमा भूकम्प जानुनको कारण यहि हो। 

जति धेरै समयसम्म चट्टानहरुले त्यो शक्ति थेग्न सक्छन्, त्यो बेलासम्म भूकम्प जाँदैन। जब थेग्न सक्दैन, तब भूकम्प जान्छ। हामीलाई थाहा भए अनुसार पश्चिम नेपालमा विगत पाँच सय वर्षदेखि त्यो शक्ति थेगिएर बसेको छ। जसको कारण त्यो क्षेत्रमा महाभूकम्प गएको छैन। 

पृथ्वीभित्र ८ रेक्टर स्केलको भूकम्प जाने शक्ति संचित छ भने त्यो शक्ति क्षय हुन ६ रेक्टरका भूकम्प एक हजारवटा जानुपर्ने हुन्छ। मध्य नेपालमा १८९० मा पनि शक्तिशाली भूकम्प गएको थियो। त्यसको दुई सय वर्षभन्दा कम समयमै अर्को शक्तिशाली भूकम्प गयो। 

पूर्वी नेपालमा विसं.१९९० मा महाभूकम्प गयो, त्यसअघि करिब सात सय वर्षअघि पनि त्यस क्षेत्रमा भूकम्प गएको थियो। 

इन्डियन प्लेट उत्तरतिर सर्दा हाम्रो हिमालय मुनीको युरेसियम प्लेटले रोक्न खोजिरहेको छ। तर, प्रतिवर्ष इन्डियन प्लेट उत्तरतिर सरिहन्छ। त्यो सर्ने र रोक्ने क्रमलाई जब त्यहाँका चट्टानले थेग्न सक्दैनन्, अनि टुटफुट हुन्छन्, यताउता सर्छन्। त्यतिबेला भूकम्प जान्छ। 

(वरिष्ठ भूकम्पविद् अधिकारीसँग नेपालखबरकर्मी जनार्दन पोखरेलले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .