समाज


दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि १७०२ वटा रुख काटिने

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि १७०२ वटा रुख काटिने

नेपालखबर
पुस २४, २०८१ बुधबार २०:४२, काठमाडौँ

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण संरक्षित क्षेत्रको जग्गा प्रयोग गर्न र सो स्थानमा भएका रुखबिरुवा हटाउने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र
नेपाल इन्टरमोडल यतायात विकास सिमितबीच सम्झौता भएको छ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न मन्त्रिपरिषदले स्वीकृति दिईसकेको छ।

मन्त्रिपरिषदको गत असोज २ मा भएको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ वटा रुख र पोलहरू हटाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच आज (पुस २३ गते) द्विपक्षीय सम्झौता भएको हो।

विभाग र समितिबीच सम्झौता भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले एकीकृत जाँच चौकी निर्माणस्थलमा भएको रुखको छपान मूल्याङ्कन गरी विभागमा पठाउनेछ र विभागबाट प्रमाणित भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट रुख कटानको आदेश उपलब्ध गराउनु पर्ने हुन्छ।

आदेश प्राप्त भएपछि समितिले प्रचलित कानून अनुसार आफ्नै खर्चमा रुख कटान मुछान लगायतका कार्यहरु गर्नेछ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सो एकीकृत जाँच चौकीका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्र (एअओयू) मा हस्ताक्षर भएको थियो।

आयोजनाको कुल लागत करिब ५.७६ अर्ब नेपाली रुपैयाँ रहेको छ। त्यसै गरी सो आयोजनाको लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन गत २०८० वैशाख १७ मा र वातावरणीय व्यवस्थापन योजना २०८१ भदौ ७ मा वन तथा वातावरण मन्त्रालय (मन्त्रीस्तर) को निर्णयानुसार स्वीकृत भएको थियो।

संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० अनुसार दोधारा चाँदनी एकीकृत जाँच चौकी आयोजना निर्माणको लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा नघट्ने गरी सट्टाभर्ना स्वरुप नेपाल सरकारलाई जग्गा उपलब्ध गराउनु पर्ने छ।

सो को लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई वन विकासको लागि जग्गा खरिद गर्ने प्रयोजनको लागि १४ करोड ८२ लाख ६० साठी हजार रुपैयाँ समितिबाट यही पुस ९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिएको थियो।

समितिबाट रुख कटान लगायत साइट क्लियरेन्सको कार्य सम्पन्न भएपछि भारतीय पक्षबाट एकीकृत जाँच चौकी निर्माणको कार्य सुरु समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad