राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले आज बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा क्षति भएको हुनसक्ने बताएका छन्।
स्थानीय मापनअनुसार आज बिहान ६ बजेर ५० मिनेट जाँदा सात रेक्टरस्केलको भूकम्प गएको अधिकारीले बताए।
तर, चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।
भूकम्पविद् अधिकारीले भने स्थानीय मापनअनुसार यो भूकम्प सात रेक्टरस्केलको भएको बताएका हुन्।
‘यो ठूलाे भूकम्प हाे। यसले नेपालमा क्षतिहुने सम्भावना धेरै छ। तिब्बत नजिकका नेपाली भूभाग (पूर्वीपहाडी र हिमाली क्षेत्र) मा क्षति भएको हुनसक्छ,’ उनले नेपालखबरसँग भने, ‘काठमाडौँदेखि पूर्वतर्फको क्षेत्रमा भूकम्पको अझ ठूलो धक्का महसुस भएको छ।’
अधिकारीले नेपालको हिमाली क्षेत्र भूकम्पीय दृष्टिले अत्यन्तै जोखिममा रहेको बताए। ‘तिब्बतमा आज बिहान गएको भूकम्पको कारण पनि एउटै हो,’ अधिकारीले भने।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी नेपालका धेरै जिल्लामा महसुस भएको छ।
भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमासमेत भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे बताएका छन्।
Shares

प्रतिक्रिया