समाज


म्याग्दीमा भारतले बनाइदियो क्याम्पस र छात्रावास भवन

म्याग्दीमा भारतले बनाइदियो क्याम्पस र छात्रावास भवन

नेपालखबर
पुस २२, २०८१ सोमबार १६:२२, काठमाडौँ

म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन्।

भारत सरकारको रू दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा र आठकोठे छात्रा छात्रावास भवन निर्माण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए। तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण भएको थियो।

कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिए।

नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए।

उनीहरूले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मूर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन स्थल कालीगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नान स्थलका रूपमा विकास गर्न लागिएको जानकारी गराउँदै त्यसका लागि भारत सरकारसँग सहयोगको अपेक्षा गरे।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको बताए।

समुदाय स्तरबाट विसं २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नाकोत्तर तहसम्मको अध्ययन हुन्छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad