पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम सुरु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यममा वृद्धि भएको हो। उपत्यकाको नागढुंगा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको संख्या बढेको बताउछन्। ‘नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जानके यात्रुको भिड लागेको छ’, उनले भने।
घर जान बिहीबार बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलंकी क्षेत्रमा यात्रुको भिड लागेको थियो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउछन्।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन्। त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन्। अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह गरे। ‘हरेक यात्रुले आफ्नो सुरक्षा आफैँ गरे कोरोना भाइरस फैलन पाउँदैन’, उनले भने। रासस

प्रतिक्रिया