समाज


खोटाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति स्वस्थ रहेको पुष्टि

खोटाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति स्वस्थ रहेको पुष्टि

नेपालखबर
चैत ६, २०७६ बिहिबार ६:३६,

खोटाङ जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ।

चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पतालका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताए। ‘चीनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शंका हुनु स्वभाविक हो’, उनले भने, ‘तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरोसमेत छैन, उनीमाथि कुनै शंका मान्नु पर्दैन।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन १४ गते नेपाल फर्किएका थिए। अध्ययनका क्रममा चीनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो।

अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक वामदेव गौतम, स्वास्थ्यकर्मीलगायतको टोलीले पीडित परिवारलाई भेटेका छन्।

भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। स्वास्थ्य परीक्षणका लागि जिल्लामा आवश्यक उपकरण नभएकाले काठमाडौँबाट झिकाउनुपर्दा ढिला भएको नगरप्रमुख रिजालले बताए।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेकामा फैलिएको हल्ला दिक्तेल बजारमा समेत पुगेपछि गत चैत २ गते जिल्ला प्रशासन कार्यालयले सर्वदलीय भेलासमेत राखेको थियो। सर्वदलीय÷सर्वपक्षीय भेलालगत्तै जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्वतयारीसमेत थालिएको छ।

कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पतालमा आइसोलेसन वार्डसमेत स्थापना गरिएको छ। कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्न अस्पतालले तीन शैय्याको आइसोलेसन वार्ड स्थापना गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad