समाज


नेपालमा लगातार दोस्रो दिन भूकम्प, १८ दिनमा १० धक्का

नेपालमा लगातार दोस्रो दिन भूकम्प, १८ दिनमा १० धक्का

फाइल तस्बिर: केही समयअघि जाजरकोटमा भूकम्पले गरेको क्षति


नेपालखबर
पुस १९, २०८१ शुक्रबार ९:८, काठमाडौँ

नेपालमा लगातार दोस्रो दिन भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (पुस १९ गते) बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसअघि हिजो (पुस १८ गते) दिउँसो मात्र सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको धक्का काठमाडौँ उपत्यकासम्म आएको थियो।

पुस २ देखि आज पुस १९ गते बिहानसम्म नेपालमा ३ म्याग्निच्युडमाथिका १० पटक भूकम्प गइसकेको छ। 

जसमध्ये ९ भूकम्प त पश्चिम नेपालमा मात्र गएको छ। 

पुस लागेयता लगातारजसो भूकम्प गइरहेको छ।

सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको/चर्काएको थियो। 

यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

यी भूकम्प ३ म्याग्निच्युडभन्दा माथिका हुन्। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प त औसत रूपमा दैनिक १० पटकसम्म जान्छ।

उनका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्नसक्छ। यसभन्दा मुनिका ससाना भूकम्प त झन् कति जान्छ कति।

भूकम्प मापन केन्द्रले २ म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड गरे पनि भूकम्प मापन केन्द्रले विवरणमा समेट्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad