नेपालमा कोरोना भाइरस संक्रमण छ कि छैन भनेर स्वास्थ्य परीक्षण गराउने सिलसिला दैनिक जारी छ।
त्यस क्रममा अहिलेसम्म ५ सय जनाभन्दा बढीको नमुना (रगत/र्याल) परीक्षण गरिसकिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिए।
‘अब आज २५ जनाजतिको रिपोर्ट आउँदै छ,’ प्रवक्ता गुप्ताले बुधबार बिहान नेपालखबरसँग भने, ‘मंगलबारसम्म आएको ४ सय ९६ जनाको रिपोर्ट त नेगेटिभ (कोरोना भाइरस नभएको) आएको छ, अब आज आउने रिपोर्ट कस्तो होला, हेर्न बाँकी छ।’
उनका अनुसार हिजोसम्म परीक्षण सकिएको २५ वटाजति नमुनाको नतिजा आज दिउँसो १२ बजेसम्म आउनेछ।
प्रयोगशालाका प्रवक्ता गुप्ताका अनुसार केही दिनयता प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको संख्या बढेको छ।
नेपालमा अहिलेसम्म कारोना भाइरस परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हुन्छ।
‘अहिले दिनमै २५ वटासम्म स्याम्पल (नमुना– बिरामीको रगतरर्याल) आउने गरेका छन्,’ प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने, ‘यसमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै बिरामी छन्।’
काठमाडौं उपत्यकाबाहिर अहिलेसम्म भरतपुर, पोखरा, लुम्बिनी, नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, धरानबाट कोरोना परीक्षणका लागि नमुना आइरहेको सूचना अधिकारी गुप्ताले जानकारी दिए।
उपत्यकापछि सबैभन्दा बढी पोखरा र चितवनबाट नमुना आउने गरेको उनले बताए।
रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिनेबित्तिकै कोरोना हो कि भनेर अस्पताल पुग्नेहरूको संख्या बढेकाले नमुना परीक्षणको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ।
‘सामान्य ज्वरो, रुघाखोकी, टाउको दुख्ने हुनेबित्तिकै मानिस अस्पताल पुग्ने गरेका छन्,’ प्रयोगशालाका प्रवक्ता गुप्ताले भने, ‘अनि सम्बन्धित अस्पतालका चिकित्सकले कोरोना परीक्षणका लागि बिरामीको नमुना टेकु प्रयोगशाला पठाउँछन्।’
यसरी परीक्षण गराउनुको कारण कोरोनाप्रति मानिसमा सतर्कता बढेको प्रमाण पनि भएको उनी बताउँछन्।
प्रयोगशालमा कति जनशक्ति छ?
कोरोना भाइरस परीक्षण अहिले नेपालमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ।
अझ चीनमा कोरोना संक्रमण सुरु हुने बेला यसको परीक्षण नेपालमै हुन्थेन। शंका लागेका बिरामीका रगत तथा र्याल परीक्षण गराउन विश्व स्वास्थ्य संगठनको प्रयोगशाला शाखा हङकङ पठाउनुपर्थ्यो।
संक्रमण सुरु भएको केही दिनपछि मात्र टेकु प्रयोगशालामा प्रविधि जडान गरी नेपालमै परीक्षण सुरु गरिएको हो।
अहिले दिनमा २०र२५ वटा नमुना मात्र परीक्षण गर्नुपरेकाले ५ जना प्राविधिकबाट काम भइरहेको प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिए।
‘तर दिनप्रतिदिन स्याम्पलको संख्या बढिरहेकाले हामीले दिनमा ८ सय वटासम्म परीक्षण गर्ने गरी जनशक्ति तयार गरिसकेका छौं,’ उनले भने, ‘त्यसका लागि हामीले ८० जनाको टोली बनाइसकेका छौं।’
परिआएको खण्डमा दुई सिफ्ट गरेर जनशक्ति परिचालन गरिने उनले बताए।

प्रतिक्रिया