समाज


सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो

सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो

नेपालखबर
पुस ७, २०८१ आइतबार १८:१७, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगीसँगै विभिन्न कसुरका प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।

अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्।

सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।

यस्तो छ छविको कयान
म २०७७ सालमा नेचर हर्बस इन्टरनेसनल प्रालिमा १० प्रतिशत सेयर लिई डाइरेक्टर रहेकोमा सो सेयर गितेन्द्र बाबु राई मार्फत रामबहादुर खनाललाई हस्तान्तरण गरेँ।

कूल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी म र गितेन्द्र बाबु राईको ५०/५० प्रतिशत सेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरहोल्डर र सञ्चालक सदस्यको रुपमा करिब १ वर्ष पछि अलग भएको हुँ।

गितेन्द्र बाबु राई, रवि लामिछाने र मैले आवश्यक कागजातहरू पेश गरी केवाईसी समेत भरेर हामी तीनजना मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी ग्लोबल आईएमई बैंकमा ००४०१०१००००५७७ नम्बरको खाता खोल्यौँ।

खाताबाट भएको सम्पूर्ण कारोबारको सम्बन्धमा जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला।

टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने, सामान तथा कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य निजहरूबाटै भएको हो।

सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको खातामा जम्मा भएको रकम खर्च गर्ने कार्य रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिन्थ्यो।

गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७७।१२।०३ देखि मिति २०७८।१०।०६ गतेसम्म जम्मा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ ७६ पैसा आएको भन्ने कुरा अहिले थाहा पाएको हुँ। को कसले के कसरी रकम ल्याए मलाई थाहा भएन।

नेचर हर्वस इन्टरनेसनल प्राईभेट लिमिटेडले मेरो पत्नी पद्मा बन्जाडे जोशीको नाममा रहेको घर आर्थिक वर्ष २०७६/०७७ बाट मासिक निश्चित रकम लिने गरी सम्झौता बमोजिम भाडामा लिएको हो।

राम बहादुर खनाल प्रहरी कर्मचारी रहेको कारण निजसँग म प्रहरी सेवामा रहँदाको क्रममा चिनजान परिचय भएको बाहेक अन्य केही छैन। म नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको सेयर सदस्य भएपछि सोही कम्पनीको प्रतिनिधित्व गरी नेपाल डाइरेट सेलिङ एसोसियसनको अध्यक्ष भए बापत मासिक रुपमा लिने रकम तथा तथा बा २३ च ३१३१ नम्बरको पजेरो स्पोर्ट गाडी छोरा रोचक जोशीको नाउँमा ९५ लाख ८५ हजार ६१४ रुपैयाँ आन्तरिक लेखा परीक्षक मिलाउन देखाएको र उक्त रकममा लाग्ने १३ प्रतिशत भ्याट सहित जोडेर एक करोड ८ लाख ३१ हजार ७४३ रुपैयाँमा मिति २०७९।१२।१७ गते सो गाडी खरिद गरेको हुँ।

सो कम्पनीमा म र लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षरबाट विभिन्न व्यक्तिहरू वा कम्पनीको नाउँमा चेक काटिएको रहेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad