समाज


बालेनले गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस

बालेनले गरे  प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस

सरोज बैजु
पुस ५, २०८१ शुक्रबार १७:४३, काठमाडौँ

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ। काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई कारबाही सिफारिस गरेको हो।

महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ।

यस विषयमा थप अनुसन्धान गरी कारबाही आवश्यक भएको भन्दै सम्बन्धित निकायमा सिफारिस गरेको महानगरपालिकाको भनाइ छ।

यस प्रक्रियामा गडबडी भएको सूचना पाएपछि महानगर प्रमुख बालेन्द्र शाहले आन्तरिकरूपमा छानबिन गर्न लगाएका थिए। छानबिनबाट प्राप्त तथ्यसहितको प्रतिवेदन तथा कारबाहीको सिफारिस महानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ। 

यस्तो महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई आरोप-

काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि. नं. १३७३ क्षेत्रफल २३-५-३-३ जग्गामा काठमाडौँ महानगरपालिका (कामपा) को नाममा टावर निर्माण गर्न २०७१/११/२० मा कामपा को कार्यपालिका बैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि र कामपाबीच दुई पक्षीय सम्भौता भएको यहाँहरूलाई अवगत नै छ।

सोही कार्यको लागि मिति २०७२/४/२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२/५/६ मा प्लिन्थ लेभलसम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि र कामपाबीच निर्माणको अवधि पाँच वर्षसहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुईपक्षीय सम्भौतासमेत भएको देखिएको थियो।

साथै मिति २०७४ वैशाख ८ गते दुवै पक्षबीच मिति २०७३ वैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ। सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तला basement र जमिन तलादेखि १० तलासम्म गरी जम्मा १२ तलाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राविधिक जाँचपश्चात् प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो नगरी डबल basement प्लिन्थ लेभलभन्दा माथि दुई तला basement र जमिन तलादेखि १० तलासम्म जम्मा १२ तला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनी वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिवेदनमा पेस भएको छ।

श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FAR मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो।

त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड, २०७५ परिच्छेद-२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हाल कायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ। सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तलाको लागि जरिवाना लिइ नक्सा पास प्रक्रिया अगाडि बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS मार्फत नक्सा पास प्रक्रिया अगाडि बढाइएको थियो।

सोही प्रकयामा १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिन्छ। सो नक्सा मिति २०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्भौताविपरीत भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो। कामपाको आधिकारिक नक्सा पास  प्रणाली EBPS बमोजिम मिति २०८०/११ /२२ देखि प्राविधिक कारणले रोकिएको प्रक्या विद्युतीय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वार्ड गरिएको देखिन्छ।

साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड इन्जिनियर सुशील केसीलाई, सुशील केसीले निर्मलकुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वार्ड गरेको देखिन्छ।

२०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मलकुमार भट्टराईलाई र २०८१/६/१८ मा निर्मलकुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ।

मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फर्वार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणालीमा विभागीय प्रमुखको डेस्कमै रहेको देखिन्छ। उल्लिखित व्यहोराबमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन।

तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ। यस विषयमा थप छानबिन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ।

धन्यवाद

नवीन मानन्धर
प्रवक्ता
काठमाडौँ महानगरपालिका
मिति २०८१ /९/५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad