समाज


नेपालमा कोरोना नदेखिँदै स्वास्थ्यकर्मीले लगाउने पीपीई अभाव

नेपालमा कोरोना नदेखिँदै स्वास्थ्यकर्मीले लगाउने पीपीई अभाव

यज्ञराज जोशी
चैत ४, २०७६ मंगलबार १२:२३,

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिइकनै स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पीपीई) को अभाव हुन थालेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले आपतकालीन अवस्थाका लागि मात्रै पीपीई बाँकी रहेको बताए।

पीपीईमा गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्री हुन्छन्। यो एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन।

कोरोना भाइरस संक्रमण भए–नभएको जाँच गर्नका लागि नमुना संकलन गर्दा पनि स्वास्थ्यकर्मीले पीपीई लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख छ।

नेपाल चिकित्सक संघले पनि सोमबार विज्ञप्ति जारी गर्दै बिरामीको पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएकाले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पीपीई लगायत औजार र उपकरण पर्याप्त उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ।

तर, देशभरका स्वास्थ्य संस्थासँग समन्वयन गर्ने तथा आवश्यक सामाग्रीहरुको जोहो गर्दै आएको स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले कति संख्यामा पीपीई छ, त्यो आफूलाई थाहा नभएको बताए।

‘कति छ, ठ्याक्कै थाहा छैन। तर मौज्दात धेरै छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘इमर्जेन्सीका लागि मात्रै बाँकी छ।’

सरकारसँग भएका पीपीई सकिएपछि यूएसएडले एक हजार वटा सहयोग दिएको पनि उनले बताए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालमा एकमात्रै कोरोना परिक्षण गर्ने स्थान हो। त्यहाँका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. शंकर काफ्लेले पनि पीपीईको अभाव रहेको बताए।

‘नमुना लिनेहरुका लागि पीपीई अनिवार्य हो,’ उनले भने, ‘प्रदेशहरुमा नमुना लिन तालिम दिइएका व्यक्तिहरुबाट अभाव भएको गुनासो आएको छ।’

प्रदेश २ मा कोरोना परीक्षणको तालिम लिएका प्रादेशिक अस्पताल जनकपुरका माइक्रोबायोलोजिस्ट डा. सरोज कुमारले पनि आफूहरु कहाँ ३ वटामात्रै पीपीईमात्रै बाँकी रहेको बताए।

‘हामीलाई ५ वटा पीपीई उपलब्ध गराइएको थियो। त्यसमध्ये एउटा शंकास्पदको नमुना लिँदा २ वटा पीपीई प्रयोग भइसक्यो,’ उनले भने, ‘अब ३ वटा बाँकी छ। त्यो सकिएपछि अस्पताल, सरकारले केही व्यवस्था गर्ला।’

सुदूरपश्चिममा कोरोना नमूना संकलन गर्ने जिम्मा पाएको एक स्थान सुदूरपश्चिम प्रादेशिक ल्याब हो। तर, ल्याबमा अहिलेसम्म एउटा पनि पीपीईको पूरा सेट उपलब्ध नभएको ल्याब टेक्निसियन महेशप्रकाश भट्टले बताए।

‘पीपीईको कम्प्लिट सेट त हामीसँग छैन,’ उनले भने, ‘यसअन्तर्गतका केही सामाग्री हामी आफैँले खरिद गरेर चलाइरहेका छौं।’

सुदूरपश्चिममा हालसम्म एक जनालाई शंकास्पद भन्दै उनको नमुना काठमाडौं पठाइएको थियो। ती व्यक्तिको नमुना सेती प्रादेशिक अस्पतालले संकलन गरेपछि काठमाडौं पठाउने काम भने प्रादेशिक ल्याबले नै गरेको हो।

१०–१५ सेट खरिद गर्ने स्थितिमा भएपनि बजारमा पीपीईको सप्लायर्स नभेट्टाएको भट्टले बताए।

कर्णाली प्रादेशिक अस्पतालका ल्याब टेक्नेसियन भरत देवकोटाले अस्पतालमा ५ वटा सुट रहेपनि त्यो पर्याप्त नभएको बताए।

‘अहिले कसैलाई शंकास्पद ठानेर नमुना लिनुपरेको छैन। त्यसैले सरकारले उपलब्ध गराएका ५ सुट यथावत छन्,’ उनले भने, ‘नमुना लिनुपर्ने अवस्थामा अभाव देखिनसक्छ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने अहिले तत्काल कुनै प्रदेशबाट माग नआएको र आए हेलिकोप्टरबाट भएपनि तत्काल पुर्‍याइने बताए।

‘प्रदेशमा आवश्यकता अनुसार ३०–४० वटा पठाएका छौं। अहिले कुनै कुनै प्रदेशलाई तुरुन्त थप आवश्यक परेको छैन। आवश्यक भए हेलिकोप्टरबाट भएपनि पुर्‍याउँछौं,’ महानिर्देशक श्रेष्ठले भने।

स्वास्थ्य सेवा विभागले देशभर पीपीईको अभाव देखिन थालेपछि थप ३३ हजार पीपीई खरिदका लागि टेन्डर आह्वान गरेको छ। गत आइतबार नै टेन्डर खुलाइसकेको र चैत्र ७ गतेभित्र कोटेसन बुझाउन भनिसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad