भरतपुर महानगरपालिकाले चितवनमा कोरोना उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल तीन दिनमै सञ्चालनमा ल्याउने दाबी गरेकाे छ।
भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी सुरु भएको महानगरकी प्रमुख रेणु दाहालले नेपालखबरलाई जानकारी दिइन।
प्रदर्शनी केन्द्रमा रहेको भवनलाई तीन दिन(७२ घण्टा)मा अस्पतालको स्वरुपमा बदल्ने बताइएको छ। मेयर दाहालले सो अस्पतालमा अत्याधुनिक उच्च प्रविधिको बेड १०, आईसीयू बेड १० र जनरल वार्ड बेड ५० गरी ७० बेड रहने जानकारी दिइन्।
अत्याधुनिक प्रविधिको बेड र आइसीयूका लागि चितवनमा रहेका विभिन्न अस्पतालले सहयोग गर्ने भएका छन्। यस्तै आपतकालीन अवस्थामा सञ्चालनमा आउन लागेको उक्त अस्पतालका लागि आवश्यक मेसिन र उपकरण समेत विभिन्न निकायबाट जुटाइने मेयर दाहालले बताइन्।
‘सबैतिर कोरोनाको त्रास बढेको छ, हामीले जिल्लामा त्यसको संक्रमण नबढ्ने गरी तयारीसँगै संक्रमित भेटिएको अवस्थामा उपचार गर्न ७० वेडको अस्पताल निर्माण गर्न सुरु गरेका छौं’, नेपालखबरसँग उनले भनिन्, ‘अस्पतालका लागि आवश्यक सबै सामग्रीहरु विभिन्न निकायबाट जुटाइने छ, यहाँका अस्पतालले आवश्यक जनशक्ति दिने बताउनुभएको छ।’
तीन बिघा क्षेत्रफलमा रहेको प्रदर्शनी कक्षमा तीनवटा भवनहरु भएकाले अत्याधुनिक उपचार केन्द्र, आईसीयू स्थापना गर्न सफल हुने दाहालको भनाइ छ।
खासगरी उच्च प्रविधिको अत्याधुनिक कक्ष, आईसीयूका लागि आवश्यक उपकरण, सोही अनुसारको जनशक्ति र त्यसको व्यवस्थापन गर्न भरतपुर क्यान्सर अस्पताल लगायतले सहयोग गर्ने भएका हुन्।
चितवन उद्योग वाणिज्य संघ, क्रियाशील विभिन्न संघसंस्थासँग दुईदिन भएको छलफलबाट तीन दिनभित्र अस्पताल निर्माण गर्ने निर्णय भएको हो। अस्पताल निर्माण थालिएको र ७२ घण्टामा सक्ने मेयर दाहालको दावी छ।
अस्पतालामा कोरोना आशंका लागेका व्यक्तिहरुलाई मात्र राखिनेछ ।

प्रतिक्रिया