नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणना चलिरहेका बेला शनिबार राति महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको भन्दै समाजवादी प्रेस संगठन, नेपालले खेद प्रकट गरेको छ।
प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आइतबार बिहान विज्ञप्ति जारी गरी निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा सता पक्षले प्रहरीसहित गएर केन्द्रीय कार्यालयमा ताला लगाएको आरोप लगाएका हुन्।
विज्ञप्तिमा सुवेदीले लेखेका छन्, ‘कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासकाविरुद्ध हामी खेद प्रकट गर्दछौँ।’
पत्रकार महासंघको केन्द्रीय निर्वाचन संयोजक चिरञ्जीवी खनालले भने मत गणनास्थलमा होहल्ला भएपछि केही बेरका लागि आफूहरूले ढोकामा ताला लगाएको बताएका छन्।
‘मत गणना भइरहेका बेला होहल्ला र भीडभाड बढ्यो, मत गणना नै प्रभावित हुने अवस्थामा आएपछि स्थिति सामान्य बनाउन केही बेर ताला लगाएका हौँ’, नेपालखबरको जिज्ञासामा निर्वाचन संयोजक खनालले भने, ‘अवस्था शान्त भएपछि ढोका खोलेर मत गणना अघि बढाइसकेका छौँ।’
सम्पन्न चुनावबाट पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भइसकेकी छन्। तर औपचारिक घोषणा भने आज गर्ने तयारी छ।
मधेस प्रदेशबोहक अन्य प्रदेशमा मत गणना सकिँदा शर्माले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई १ हजार १४४ मतान्तरले पछि पारिसकेकी थिइन्। मधेस प्रदेशमा जम्मा ७७२ मत खसेको छ, जुन मत शर्माले लिएको अग्रताभन्दा कम हो।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षमा उठेकी हुन्।
अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ।
अब आज औपचारिक रूपमा विजयी घोषणा गरिने निर्वाचन संयोजक पौडेलले बताए।

Shares

प्रतिक्रिया