समाज


चैतमा जनकपुरमा सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

चैतमा जनकपुरमा सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

छैटौँ क्यान्सर सम्मेलनमा सहभागी चिकित्सक। फाइल तस्बिर।


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १२:५०, काठमाडौँ

जनकपुरमा आउँदो चैत ८ र ९ (मार्च २१ र २२) मा  सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ।

सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहने सम्मेलन विनयतारा फाउन्डेसनले गर्न लागेको हो।

सम्मेलनमा अमेरिका, भारत, बंगलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स तथा अन्य सरोकारवालाहरू सहभागी हुने आयोजकले जनाएको छ।

विश्वमा क्यान्सर उपचारमा भइरहेको नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभव सम्मेलनमा समेटिने सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले बताएका छन्।

उनका अनुसार पहिलो दिन नीतिगत बहस हुनेछ। 'स्वास्थ्य बीमा विषयमा राजनीतिज्ञ, नीतिनिर्माता र सरोकारवाला राखेर बहस गर्ने र त्यसलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आमजनसम्म पुर्‍याउने तयारी भइरहेको छ,' डा शाहले भने।

हेड एन्ड नेक क्यान्सरका विषयमा छलफल, प्रस्तुतीकरण, नीतिगत बहस र सांस्कृतिक कार्यक्रम पहिलो दिन राखिएको छ। 

दोस्रो दिन रजिस्ट्रेसनका साथै बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन्। सुरुमा स्तन क्यान्सर,  त्यसपछि फोक्सोको क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने फाउन्डेसनले जनाएको छ। 

नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा कपेन्द्र शेखर अमात्यले सम्मेलनको अध्यक्षता गर्नेछन्। अन्य केही नाम चलेका विशेषज्ञ चिकित्सक पनि सहभागी हुने पक्का गरिसकेका छन्।

प्राडा जनक कोइराला (पाटन अस्पताल),  डा सुदीप श्रेष्ठ (नेपाल क्यान्सर अस्पताल), डा मार्क पेग्राम (स्टेनफोर्ड हेल्थकेयर, अमेरिका), डा यिङ ली (युनिभर्सिटी अफ वासिङ्टन, युएसए), डा दिनेश क्षत्री (युसीएलए हेल्थ, युएसए), डा सञ्जय ठाकुर (टाटा मेडिकल सेन्टर), डा श्रीनिवास के तन्त्रावाही (हुन्तस्मान क्यान्सर इन्सिच्युट, युएसए),  डा विप्लव यादव (अमेरिका), डा प्रभात ठाकुर (‍नेपाल क्यान्सर अस्पताल),  डा नोरा कु (रेन अन्कोलोजी, अमेरिका), डा अरुण शाही (पाटन अस्पताल), डा धिरेश कुमार महर्जन (नेपाल), डा रमेश श्रेष्ठ (बीपीकेआईएचएस),  डा सजिन राजभण्डारी (प्राइमेरा हस्पिटल), डा सुजिता हिराचन (शिक्षण अस्पताल महाराजगञ्ज ) रहेका छन्। 

विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी सामाजिक संस्था हो। फाउन्डेसनले स्वास्थ्य सेवामा न्यून पहुँच भएका दक्षिण एसियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ।  बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदानजस्ता कुरामा पनि यसले सहयोग गरिरहेको छ। 

मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एसियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad