अछामको मेल्लेख गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा धुर्वप्रसाद सापकोटाले मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै थियो। गत मंसिर १० गते परेको उजुरीमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानको सिलसिलामा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भइसकेको थियो। अख्तियारले त्यस क्रममा उजुरीसँग सम्बन्धित कागजात पेस गर्न कञ्चनपुरस्थित कार्यालयमा सापकोटालाई बोलायो। कागजातसहितको पोको बोकेर उनी सोझै अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगे।
अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी उनले अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिए।
हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात थिए। त्यसैमा रहेको अर्को खामभित्र एक हजार दरका नेपाली नोट ९६ वटा र ५०० दरका ८ गरी जम्मा एक लाख रूपैयाँ निस्किए।
खाम देखेर अनुसन्धान अधिकृत अचम्भित हुँदै सोधे, के हो यो?
‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो,’ सापकोटाले जवाफ दिए।
अख्तियारमै घुस खुवाउन खोजेको देखिएपछि सापकोटा तत्कालै गिरफ्तारीमा परिहाले।
उनलाई अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट आज (शुक्रबार) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको केन्द्रीय कार्यालयका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
सापकोटा हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा छन्।
Shares

प्रतिक्रिया