समाज


पञ्जावबाट फर्केका ११ युवालाई लिन जब प्रहरी एम्बुलेन्स लिएर घरै पुग्यो...

पञ्जावबाट फर्केका ११ युवालाई लिन जब प्रहरी एम्बुलेन्स लिएर घरै पुग्यो...

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार २:१७,

वैदेशिक रोजगारका लागि छिमेकी देश भारतको पञ्जाव पुगेका सिरहा नरहियाका ११ जना आइतबार दिउँसो घर फर्के।

जयनगर हुँदै नेपाल घर फर्केका उनीहरुलाई सिरहाको खयरटोका भन्सारमा राखिएको हेल्प डेस्कमा चेकजाँच गरियो। तर त्यहाँ कसैलाई केही नभएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएको भन्दै उनीहरुलाई घर फर्किन दिइयो।

सबै आ-आफ्नो घर पुगे। उनीहरु पञ्चाबबाट घर आएको गाउँमा हल्ला फैलियो। पञ्जावबाट फर्केकोले उनीहरुमा काेरोना भाइरस लागेको हुन सक्छ भन्ने आंशका गाउँलेहरुले गरे।

कसैले प्रहरीलाई खबर गरिदियो। एम्बुलेन्स लिएरै प्रहरी गाउँ पुग्यो।

टाढाबाट घर आएकाले कोहि खाँदै थिए, कोहि नुहाउँदै। कोहि भने आराम गरिरहेका थिए। प्रहरी पुगेपछि गाउँमा हल्ला खल्ला मचियो।

जो जुन अवस्थाम थिए, सबैलाई प्रहरीले एम्बुलेन्समा जबरजस्ती बस्न लगायो। उनीहरुलाई धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पताल पुर्‍याइयाे।

जानकी मेडिकल अस्पतालमा कोरोना संक्रमितका लागि ६० बेडको आइसोलेशन वार्ड तयार गरिएको छ।

तर, अस्पताल प्रशासनले न त उनीहरुलाई भित्र छिर्न दियो, न त स्वास्थ्यकर्मीले केही भने। एक घण्टासम्म उनीहरु त्यहीँ पर्खेर बसे। एम्बुलेन्स चालकले सिरहा प्रहरीलाई फोन गरे।

त्यसपछि त्यहाँबाट उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुर लगियो। प्रादेशिक अस्पतालमा उनीहरु सबैको शरीरको तापक्रम, रगत र पिसाव परीक्षण गरियाे।

तर, उनीहरु सबैमा कोरोनाको कुनै लक्षण नदेखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

काेरोना भएको हल्लाको भरमा उनीहरुलाई प्रहरी प्रशासनले दुःख दिएको ईमरजेन्सी कक्षका एक चिकित्सकले बताए।

जबर्जस्ती अस्पताल पुर्याइएकाहरुले प्रहरीले बलपुर्वक दुव्र्यवहार गरेर अस्पताल पुर्याएको भन्दै दुखेसो पोखेका छन्।

उनीहरु मध्येका एकजनाले भने, ‘हामी थाकेकाले कोही खाना खाँदै थियौँ, कोहि नुहाँउदै, कोहि आराम गरिरहेका थियौँ। सम्झाएर अस्पताल हिँड्नुस् भन्दा पनि हुन्थ्यो नि! हामीलाई बलपूर्वक धरपकड गरी एम्बुलेन्समा बसाइयो। के हामी अपराधी हौँ? हामीलाई बोर्डरमै चेक गरेर प्रवेश गर्न दिइएको थियो। हाम्रा कुनै कुरा प्रहरीले सुनेन।’

आफुहरुको स्वास्थ्य जाँच गरेकोमा खुसी देखिएका उनीहरुले प्रहरीले धरपकड गरी ल्याएकोमा भने दुःख व्यक्त गरेका छन्।

स्वास्थ्य परीक्षणमा केहि नभेटिएपछि उनीहरुलाई अस्पतालले घर फर्काएको छ। उनीहरु सबै दलित समुदायका हुन्। डेढमहिना अघि मात्र उनीहरु मजदुरीका लागि पञ्जाव पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad