पोर्चुगलमा ७४ नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।उनीहरुलाई आइतबार रातिदेखि स्वास्थ्य जाँचका लागि क्वारेन्टाइनमा राखिएको छ।
कृषि मजदुरको रुपमा कार्यरत उनीहरुलाई अध्यागमनका प्रहरीहरुले राजधानी लिस्बोनभन्दा २ सय ७७ किलोमिटर टाढा रहेको फारो भन्ने ठाउँबाट पक्राउ गरेर क्वारेन्टाइनमा राखेको हो।
फारोस्थित खेतीमा काम गरिरहेका एक नेपालीलाई कोरोना लागेको निश्चित भएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
इटालीमा एकैदिन ३६८ काे मृत्यु
कोरोनाबाट इटालीमा एकैदिन तीन सय ६८ जनाले ज्यान गुमाएका छन्।आइतबार एकै दिन इटालीमा कोरोना संक्रमणबाट तीनसय ६८ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९ पुगेको छ। चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित मुलुक इटाली हो।
कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित बनेको छ। युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ। कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ।
बेलायतमा कोरोनाबाट आइतबार १४ जनाको मृत्यु भएको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८ सय बाट बढेर २२ सय पुगेको छ। त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया