समाज


नुवाकोटमा २ छोरासहित २३ वर्षीया युवतीको मृत्यु प्रकरण: पतिले परपुरुषसँग लागेको भन्दै गरेका थिए कुटपिट

६ वर्षअघि मात्रै उनीहरुले गरेका थिए प्रेम विवाह
नुवाकोटमा २ छोरासहित २३ वर्षीया युवतीको मृत्यु प्रकरण: पतिले परपुरुषसँग लागेको भन्दै गरेका थिए कुटपिट

सुनिता विष्ट
मंसिर २४, २०८१ सोमबार १३:३५, हेटाैँडा

नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चेमा आफ्ना दुई नावालक छोरासहित मृत भेटिएकी २३ वर्षीया चन्दीमाया तामाङको पतिसँग झगडा हुने गरेको खुलेको छ। 

आइतबार बिहान श्रीमान रेसबहादुरसँग विवादपछि चन्दीमायाले घरभित्रै डोरीको पासो लगाएर आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। उनले आफ्ना दुई नाबालक सन्तानकोसमेत हत्या गरेर आत्माहत्या गरेको अनुमान प्रहरीको छ। 

चन्दीमायाका आफन्तका अनुसार प्रायः चन्दीमाया र उनका पति रेसबहादुरबीच घर झगडा भैरहन्थ्यो। आइतबार बिहान पनि चन्दीमाया र उनको श्रीमान्बीच विवाद भएको थियो। विवादका क्रममा आफूले चन्दीमायालाई दुई थप्पड गालामा हानेको रेसबहादुरले स्वीकार गरेका सोही वडाका वडाध्यक्ष पशुपती घलेले जानकारी दिए। 

घलेका अनुसार चन्दीमायालाई परपुरुषसँग लागेको भन्दै रेसबहादुरले कुटपिट गर्दै आएका थिए। आइतबार पनि उनले सोही निहुँमा कुटपिट गरेका गरेका थिए।

आइतबार पतिपत्नीबीच झगडा परेपछि रेसबहादुर घर नजिकै रहेको बारीमा हरियो केराउ टिप्नका लागि गएको बेला चन्दीमायाले आत्माहत्या गरेको वडाध्यक्ष घले बताउँछन्।
 
‘पत्नीसँग झगडा भएपछि रेसबहादुर केराउ टिप्न बारीमा गएछन्,’ वडाध्यक्ष घलेले नेपालखबरसँग भने, ‘सोही बेला चन्दीमायाले आफ्नो ठूलीआमासँग फोनमा कुरा गरेकी रहिछन्। मलाई कुटपिट गर्यो। अब म बाँच्च सक्दिनँ। म पनि मर्छु, छोराहरुलाई पनि सँगै लैजान्छु भनेर रुँदै फोन गरेकी थिइन् रे। यति भनेर उनले फोन राखिछन्। त्यसपछि ठूलीआमाले फेरी फोन गर्न खोज्दा फोन लागेनछ।’

चन्दीमायाले ‘म अब बाँच्दिन’ भन्दै ठूलीआमा नाता पर्नेलाई फोन गरेपछि उनले तुरुन्तै चन्दीमायाको छ्यामाको छोरा चोक्ता तामाङलाई घटनाबारे जानकारी गराएको पाइएको वडाध्यक्ष घलेको भनाई छ। 

‘केहीबेरमा उनीहरु चन्दीमायाको घर पुग्दा तीनैजनाको मृत्यु भएको अवस्थामा शव फेला परेको हो,’ उनले भने। 

दाई नाता पर्ने चोक्ता तामाङ चन्दीमायाको घर पुग्दा कोठाको ढोका बन्द अवस्थामा थियो। भित्रबाट चुकुल लगाएको अवस्थामा भेटिएपछि उनले धेरैबेर बोलाए। तर भित्रबाट ढोका खुलेन। 

त्यसपछि उनले झ्यालको पर्दा उचालेर हेर्दा चन्दीमाया घरको बलोमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। त्यसपछि आफूले छिमेकीहरुलाई बोलाएर ढोका फोडेर भित्र पसेको चोक्ताको भनाई छ। 

भित्र जाँदा बहिनी चन्दीमायासहित दुई नाबालक भान्जासमेत झुण्डिएको अवस्थामा मृत फेला परेका उनले बताए।
 
५ वर्षका जेठा छोरा रोशन र ३ वर्षका कान्छा छोरा रोहन चन्दीमाया नजिकै झुण्डिएकै अवस्थामा फेला परेका हुन्।  ‘एउटा बलोमा चन्दीमाया झुण्डिएको अवस्थामा थिइन्। एउटा कुनापट्टीको बलोमा जेठो छोरा रोशन र छेउ पट्टीको बलोमा कान्छो छोरा रोहन झुण्डिएको अवस्थामा थिए,’ उनले भने।

घटनापछि नुवाकोट प्रहरी घटनास्थल आएर तीनैजनाको शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा पुर्याएको नुवाकोट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) तीलक भारतीले बताए। घटनाबारे अनुसन्धान गर्न चन्दीमायाका श्रीमान् रेसबहादुरसहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘घटना हत्या कि आत्माहत्या भन्ने अझै खुलेको छैन,’ डीएसपी भारतीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट चन्दीमायाले नाबालक छोराको हत्या गरेर आत्माहत्या गरिन् कि भन्ने देखिन्छ। यद्यपि, पुष्टि हुनको लागि पोष्टमार्टम रिर्पोट आउँनु पर्छ। रिर्पोट आइसेकेको छैन। घटनाबारे सुष्म ढंगबाट अनुसन्धान हुँदैछ।’

चन्दीमाया र रेसबहादुरको ६ वर्ष पहिले प्रेमबिवाह भएको स्थानीयले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad