कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा गत फागुन १४ मा भएको दम्पती हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
घटनाको झण्डै २० दिनपछि प्रहरीले जयलाल भण्डारी र धनादेवी भण्डारीको हत्यामा उनीहरुकै छोरा भरत भण्डारीको संलग्नता पुष्टि गरेको हो।
भरत आइतबार डडेल्धुरबाट पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धानमै उनले हत्या गरेको स्वीकारेपछि सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।
के हो घटना ?
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमै जयलाल भण्डारीको घर छ। गत फागुन १४ गते राति त्यो घरमा दर्दनाक घटना भयो। घर मालिक जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी विभत्स अवस्थामा मृत भेटिए।
जयलाल आफ्नै कोठा र धनादेवी भान्सा कोठामा रक्ताम्य अवस्थामा भेटिएका थिए। उनीहरुकी ७ महिने छोरी घाइते अवस्थामा भेटिएकी थिइन्। उक्त घरमा ७ महिने दूधे बालिका र भण्डारी दम्पती मात्र बस्थे। मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो।
तीन वर्षअगाडि क्यान्सरका कारण जेठी श्रीमतीको मृत्युपछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग उनले दोस्रो विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीबाट एक बालिका।
जेठी श्रीमतीतर्फका एक छोरा डडेल्धुरा र एक महेन्द्रनगरमा बस्दै आएका थिए। ७ महिने दूधे बालिकाको लागि धनादेवीको माइत (अमरपुर)बाट हरेक दिन दूध ल्याउने गरिएको थियो।
बच्चाको लागि दूध ल्याउन कोही नआएपछि फागुन १५ गते धनाकी फुपुकी छोरी दूध पुर्याउन घर पुगिन्। सुनसान थियो। दुई घरमध्ये एउटाको चुकुल लागेको थियो, अर्कोको लागेको थिएन। ढोका केही बन्द गरेजस्तो थियो। उनी नै घटनाबारे थाहा पाउने पहिलो थिइन्।
प्रहरीलाई १०० नम्बरमा फोन गरेर उनले नै विभत्स घटनाबारे जानकारी दिइन्। त्यसपछि बल्ल प्रहरी त्यहाँ पुगेको थियो।
छोराकै संलग्नता
उक्त खबरलगत्तै नजिकको प्रहरी (इलाका प्रहरी कार्यालय झलारी) टोली घटनास्थल पुग्यो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनी तथा डीएसपी रवीन्द्र पौडेलको टोली समेत घटनास्थल पुग्यो।
घटनास्थल पूरै प्रहरीको नियन्त्रणमा आयो। त्यसपछि प्रमाण संकलन गरियो। धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइयो। अन्ततः घटनाको झण्डै २० दिनपछि हत्यारा पहिचान भएको हो। प्रहरी अनुसन्धानले घटनामा जयलालका छोरा भरतको संलग्नता रहेको देखाएको कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए।
‘अनुसन्धानले छोराकै संलग्नता रहेको देखाएको छ, उसले अपराध स्वीकारेको छ’, उनले भने, ‘घटनामा अरुको संलग्नता देखिँदैन।’
कसरी घट्यो ?
प्रारम्भिक अनुसन्धानका क्रममा भरतले गत फागुन १३ गते डडेल्धुराबाट सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिन मोटरसाइकलमा चढी महेन्द्रनगर आई बसेको खुलेको छ।
१४ गते बिहान ९ः३० बजे उक्त परीक्षा दिएकामा उनी अनुत्तीर्ण भएका थिए। त्यसपछि साथी र आफन्तलाई डडेल्धुरा जान्छु भनी उनी हिँडेका थिए। अपराह्नतिर कैलालीको गोदावरी पुगे।
घरमा आमाबुवासँग कुराकानी गर्ने मनासायले फेरि उनी कलुवापुर फर्किएका थिए। सो क्रममा बाटोमा उनले मदिरा पान गरी राति ८ः३० बजे कलुवापुरस्थित घरमा पुगेको प्रहरीले जनाएको छ।
घर आएपछि बुबासँग केही कुरा गरेका थिए। बुबा सुत्न गएपछि उनले आमा धना भण्डारीसँग पनि गफगाफ गरेका थिए। सो लगत्तै आमा छोराको विवाद भएको थियो। त्यसपछि भान्सातर्फ गएकी आमा धनालाई उनले लोरो(ढुंगा) प्रहार गरेका थिए।
लोरो प्रहारपछि धना अचेत भइन र उनको घाँटीमा हसिया (आँसी) समेत प्रयोग गरी हत्या गरेको प्रहरीको भनाइ छ। त्यसपछि उनले कोठामा सुतिरहेका बुबा जयबहादुरलाई पनि सोही हतियार प्रहार गरी हत्या गरेका थिए।
त्यसपछि भरतले हत्यामा प्रयोग भएको पन्जा मोटरसाइकलमा राखेर फागुन १४ गते राति १ बजेतिर डडेल्धुरातर्फ गएका थिए। घटनाका बेला लगाएको लुगा उनले डडेल्धुरास्थित घरनजिक आगोले जलाएका थिए भने हतियार र पञ्जा कैलालीस्थित भाँसी भीरमा फालेको प्रहरीले जनाएको छ।

इयर फोनले खोल्यो ‘गुत्थी’
भण्डारी दम्पती रहस्यमय हत्या प्रकरणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो। घटनास्थल र पारिवारिक सम्बन्ध लगायत विभिन्न विषयमा केन्द्रीत भएर अनुसन्धान भइरहेको थियो।
घटनास्थलबाट संकलित मोबाइल, कपाल, रगत, कपडा लगायतको विस्तृत अध्ययन प्रहरीले गरिरहेको थियो। घटनास्थलबाट एउटा ‘इयर फोन’ पनि बरामद गरिएको थियो। सोही इयर फोनले घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याएको एसपी मरासिनी बताउँछन्।
‘घटनास्थल केन्द्रित गरेर अनुसन्धान गरेका थियौँ, हामीलाई घटनास्थलबाट एउटा इयर फोन पनि भेटिएको थियो, यसले अनुसन्धानलाई लिड गरेको थियो।’ एसपी मरासिनीले भने, ‘जुन कम्पनीको इयर फोन थियो त्यही कम्पनीको मोबाइल अभियुक्तले बोकेको भेटियो, यस अतिरिक्त अरु पनि धेरै प्रमाण छन्।’ अभियुक्त भण्डारीलाई अहिले अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
घटनाको कारण : अंशबण्डा
प्रहरीले यस प्रकरणमा अंशबण्डा र सम्पत्तिको भोगचलन, पारिवारिक झैझगडा र बेमेललाई हत्याको कारण मानेको छ। त्यस्तै बुबाले सरसल्लाहविनै सौतेनी आमा भित्र्याएको बारे भरत असन्तुष्ट रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
‘सौतेनी आमाले तराईको जमीनमा अंश नदिने आशयका कुराहरु गर्ने गरेको भरतले बयानमा भनेका छन्’, एसपी मरासिनीले भने, ‘अंशबण्डा तथा सल्लाहविना सौतेनी आमा भित्र्याएको बारे असुन्तुष्ट भएकाले त्यसैले घटना गरेको देखिन्छ।’
भरत कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ कलुवापरका स्थायी बासिन्दा भए पनि डडेल्धुरा बस्दै आएका थिए। उनीविरुद्ध २०७३ सालमा पनि ज्यान मार्ने उद्योग चलेको थियो।
‘जनताको साथले निष्कर्षमा पुग्न सक्यौँ’
रहस्यमयी भण्डारी दम्पती हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा पुगेपछि एसपी मुकुन्द मरासिनीको नेतृत्वमा रहेको कञ्चनपुर प्रहरीलाई ठुलो सफलता हात लागेको छ। एसपी मरासिनी आज भन्दा झण्डै तीन महिना अगाडि कञ्चनपुरको प्रहरी प्रमुख भएर आएका थिए।
उनी यहाँ आए पछिको भण्डारी दम्पती हत्या प्रकरण एउटा मात्र ठुलो जघन्य अपराध हो। जसको अनुसन्धानले निष्कर्ष पाएको छ। यो प्रकरणको अनुसन्धानले निष्कर्ष पाउनुको पछाडी यहाँका जनताको ठूलो भूमिका रहेको एसपी मरासिनीले बताए।
‘यहाँका जनताले ठुलो साथ दिए, घटनास्थलबाट नै केही न केही क्लु भेटिन्छ। घटनास्थलमा सबैले सहज तरिकाले काम गर्नमा सघाए।’ उनले भने, ‘त्यसैले हामी निष्कर्षमा पुग्न सक्यौँ।’
भण्डारी दम्पती प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र पौडेल र प्रहरी निरीक्षक सुरज कार्की नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो।
याे पनि:
भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान
भण्डारी दम्पती हत्या प्रकरणः छोरा पक्राउ
भण्डारी दम्पती हत्या प्रकरणः सीआईबीले पनि थाल्यो अनुसन्धान
भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहोस, टाउकोमा गम्भीर चोट

प्रतिक्रिया