नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका छन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दुवै अधिकृतलाई राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेसागत दक्षता एवं कार्यकुशलता र इमानदारिताको मूल्यांकनको आधारमा पदोन्नति भएको जानकारी दिए।
त्यस क्रममा महानिरीक्षक कुँवरले प्राप्त गरेको पद र जिम्मेवारीअनुरूप प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण र संगठनको बृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्त्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्ने विश्वास पनि व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिए।
नागरिकको सुरक्षा एवम् भरोसालाई कायम राख्दै समाजमा कानुनी शासनको प्रत्याभूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमानदारिता एवम् लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृत जवानहरूको उपस्थिति थियो।
मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले गुरूङ र ढकाललाई बढुवा गरेको थियो।
Shares

प्रतिक्रिया