प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पुर्याइएको थियो। न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको साइबर ब्युरोको प्रवक्ता एसपी दीपकराज अवस्तीले जानकारी दिए।
हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजै थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो।
सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते कागज सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन्।
Shares

प्रतिक्रिया