रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युत् निःशुल्क दिने योजना अघि बढाएको छ। यस योजनाअन्तर्गत गाउँपालिका भित्रका किसानलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत् आपूर्ति गरिने छ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार, पहिलो चरणमा वडा नं १, २ र ३ मा तार तथा खम्बा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ। किसानलाई सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ।
‘यसबाट उत्पादन लागत घट्ने र उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ’, अध्यक्ष त्रिपाठीले भने, ‘सिँचाइमा खपत हुने विद्युत् गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा किसानको मनोबल बढ्नेछ र खेतीपातीमा धेरै सुधार हुनेछ।’
मर्चवार क्षेत्रमा सिँचाइ अभावले उत्पादनमा कमी आएको थियो।
प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा विद्युत् उपलब्ध गराउने कार्य सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ। रासस
Shares

प्रतिक्रिया