वर्षौंदेखि बन्द खानेपानी योजना सञ्चालन गर्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयवासीले सांस्कृतिक कार्यक्रम गरी रकम सङ्कलन गरेका छन्। सहरबोटे खानेपानी योजना पुनःसञ्चालनमा ल्याउन आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले उपभोक्ताले हरिबोधिनी एकादशीका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन्।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको उपस्थितिमा सर्वदलीय बैठक बसी उक्त योजना सञ्चालन गर्न चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गरिएको थियो। हरेक योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्ति रोक्न उपभोक्ताले स्वतःस्फूर्त अग्रसरता देखाएका हुन्।
सांस्कृतिक कार्यक्रममार्फत रु तीन लाख १७ हजार सात सय १६ सङ्कलन भएको समितिका संयोजक राईले जानकारी दिए। अभियान केही दिनसम्म सञ्चालन हुने समितिले जनाएको छ।
सहरबोटे मुहानको पानी च्यास्मीटार र बडहरे लैजान विसं २०६२ मा १८ रोपनी खेतसहित खरिद गरिएको थियो। खरिद गरिएको १९ वर्षसम्म एक व्यक्तिका नाममा राखिएको खेतसहितको मुहान नगरप्रमुख राईको पहलमा गत कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेका नाममा नामसारी गरिएसँगै समुदायको सहभागितामा योजना सञ्चालनको तयारी थालिएको हो।
बडहरे र च्यास्मीटारका दुई सय घरपरिवारका लागि खानेपानी सुविधा उपलब्ध गराउन विसं २०६५ मा सुरु गरिएको योजना विसं २०७० माघमा पूरा भएको थियो। करिब रु ८१ लाख खर्च गरेर सञ्चालनमा ल्याइएको खानेपानी योजना नियमित मर्मत नहुँदा बन्द भएको थियो। रासस
Shares

प्रतिक्रिया