कारोबार


पकेट क्षेत्रकै सुन्तलामा औँसाको प्रकोप

पकेट क्षेत्रकै सुन्तलामा औँसाको प्रकोप

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १२:५२, पर्वत

सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका पर्वतको मोदी गाउँपालिका–२ देउपुर,  फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा (कीरा)को प्रकोप फैलिएको छ। 

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताए। 

देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए। उनका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ। 

गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाइँले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताए। पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडाैँ, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन्। 

कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ। केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताए। 

‘मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,’ उनले भने, ‘अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो । अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ।’

ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताए। 

पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताए। थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ। 

झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताए। 

सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो। गतवर्ष सुन्तला बिक्रीबाटरु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad