पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यो निर्णय गरेका हुन्।
आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान सञ्चालनको तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिने मन्त्रालयको लक्ष्य छ।
यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांक छ। क्यान्सरबाट जोगाउन सानै उमेरमा खोप लगाउन लागिएको मन्त्री पौडेलले बताए। ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौँ,’ मन्त्री पौडेलले भने, ‘किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रूपमा खोप लगाउने निर्णय गरेका हौँ।’
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन्। जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन्। आगामी वर्षबाट भने सबै किशोरीले नियमितरूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।
मन्त्रीका रूपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ। सोहीअनुरुप मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनी पुगेका बेला विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए। भ्याक्सिनसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीले नेपाललाई साथ दिने निर्णय गरिसकेको छ।
Shares

प्रतिक्रिया