गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङे भन्ने राजीव गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ।
उनलाई मंगलबार बिहान सीआईबीको टोलीले सानो भर्याङबाट पक्राउ गरेर लाजिमपाटस्थित कार्यालय ल्याउँदै गरेको प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
मनाङेलाई फैसला कार्यन्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।
मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैदको फैसला गरेको छ। यसअघि उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदको फैसला नै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो।
२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला गरेको थियो। तर उक्त फैसलाविरुद्ध तत्कालीन पुरावेदन अदालत पाटनमा सरकारले पुनरावेदन निवेदन दिएको थियो।
पाटन अदालतले २०६९ साउन २८ गते जिल्ला अदालतको फैसला केही बदर गर्दै ५ वर्षकै कैद सुनाएको थियो।
उच्च अदालतको फैसलापछि २०७५ वैशाख ६ गते उनी काठमाडौँबाटै पक्राउ परेका थिए। तर पक्राउ पर्नुअघि फैसलाउपर सर्वोच्च नगएका उनले त्यसपछि भने उच्चको फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।
सुरुमा सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो। इजलासमा निवेदन दिएपछि इजलासले २७ हजार ३७५ रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।
आदेशसँगै पुस ६ गते मनाङे डिल्लीबजार कारागारबाट छुटेका थिए। रिहा भएको ६ वर्षपछि फेरि उनी जेल फर्किने भएका हुन्।
Shares

प्रतिक्रिया