समाज


आज हरिबोधनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

आज हरिबोधनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ७:३१, काठमाडौँ

तुलसी र दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म (चार महिना) तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएका भगवान विष्णुका भक्तले आज दामोदरसँग तुलसीको विवाह गरिदिएर यो पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसीको दामोदरसँग विवाह गराइदिने प्रचलन छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने धार्मिक विश्वास छ। आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।  
 
घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको विश्वास छ। 

तुलसीको मठ वरपर विष्णुको प्रतीकका रूपमा निगाला, बाँस, उखु लगायतको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।
   

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।
    
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ। शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ।
 
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए।  
  
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ।
   
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ। 
     
किसानले उखुको बोट मठमा गाड्छन्। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।
   
कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए। 
    
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। 
    
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्छ। यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास छ। आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ।
  
वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad