समाज


छठले जोड्दै तराई–पहाड, भक्तजन भन्छन्– भगवान् सबैको साझा हुन्

छठले जोड्दै तराई–पहाड, भक्तजन भन्छन्– भगवान् सबैको साझा हुन्

सुनिता विष्ट
कात्तिक २२, २०८१ बिहिबार १८:५३, मकवानपुर (हेटौंडा)

मकवानपुरको हेटौंडा उपमहानगरपलिका–४ की इश्वरी शाही बिहीबार छठीमाईको पूजाका लागि बिहानैदेखि निराहार व्रत बसिन्।

दिउँसो भएपछि छठीमाईको पूजाआराधना गर्न बाँसको ढाकी, नाङ्लोमा डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोको हात्ती, ढकनी, घैला आदि बोकेर हेटौंडा–१ स्थित छठ पूजास्थलमा पुगिन्।

उनकी आमा सीतादेवी पाण्डे र श्रीमान कुमार शाहीसँगै व्रत बसेर पूजाका लागि सहभागी भएकी हुन् इश्वरी। अघिल्लो बर्षदेखि छठीमाईको पूजाआराधना गर्ने गरेको उनी बताउँछिन्।

‘जुनसुकै धर्म पनि एउटै हुन्,’ उनले भनिन्, ‘सूर्य भगवान्‌को पूजा हो। यो पूजा मधेसी समुदायले मात्रै गर्ने भन्ने हुँदैन। उहाँहरूसँगै सिकेर मैले पनि व्रत राखेको हुँ।’

यस्तै, हेटौंडा–११ नवलपुरकी जानकी अधिकारी पनि आफ्नी छोरीहरूको साथमा छठपूजाको व्रत राखेकी छिन्। आफ्नो घरसँगै रहेका मधेसी समुदाय छिमेकीसँग पूजाका सामाग्रीको बारेमा बुझेर तयार बनाएर आएको उनी बताउँछिन्।

पहिलो पटक छठ व्रत राखेकी जानकीले अब आउँदो हरेक वर्षको छठ पूजा विधिवत् रुपले गर्ने बताइन्।

‘रहर त मलाई पहिले देखि नै लागेको थियो। यो पटक आफ्नो इच्छा पूरा गर्ने मौका पाएँ’ उनले भनिन्, ‘भगवान् सबैको साझा हुन्छन्। हामीले आस्था राख्नु ठूलो कुरा हो भन्ने लागेर निराहार नै व्रत बसेर पूजा गर्न आएकी हुँ।’ 

रातभर छठघाटमै जाग्राम बस्ने र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने उनले बताइन्।

त्यसोत, उनीहरूसँगै गोलो घेरा लागेर पूजाको लागि मधेसी समुदायका महिलाहरू पनि सँगै थिए। पहिले पहिले पहाडी महिलाहरू छठको व्रत बसेर पूजा गर्न आउँदा अचम्म लागेपनि अब भने बानी परेको पूजामा सहभागी ५६ वर्षकी चन्द्रकला चौधरी बताउँछिन्। 

‘पहिले/पहिले हामीहरूमात्रै यो राप्तीतटमा हुन्थ्यौँ। कहाँ यत्तिका मान्छे हुन्थे र!’ चन्द्रकलाले भनिन्, ‘अहिले त पूजा गर्न आउने पहाडियाहरू पनि बढे। हेर्न र दर्शन गर्न आउने त कति हो कति।’

छठघाटको माहोल हेर्दा छठपूजालाई पहाडि समुदायले पनि उत्तिकै श्रद्धा भक्तिका साथ मनाइरहेको पाइन्छ। मधेसी समुदायका महिलाहरूले पहाडी समुदायका व्रतालुहरुलाई पूजाको विधि सिकाउँदै थिए।

उनीहरूको ढकीयाको सामान र पूजाको विधि हेर्दै सिक्दै पूजा गरिरहेका थिए पहाडी समुदायका व्रतालुहरू। 

त्यसो त, केही समय अघिसम्म छठ पर्व विशेषगरी मधेसी समुदायले मात्रै मनाउने पर्वको रुपमा परिचित थियो। जसका कारण देशको तराई भेगमा बढी छठ पर्वको चर्चा हुन्थ्यो।

तर पछिल्लो समय छठ पर्वप्रति सबै समुदायहरूले आस्था देखाउन थालेको पाइएको छ। मधेशी समुदायसँगै पूजाको ढकी बोकेर निराहार व्रत बसेर पूजा आरधना गर्नेको संख्या उल्लेख्य रुपमा बढेको पाइएको हो।

अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने यस पर्व हेटौंडामा पनि हर्षोल्लासका मनाइएको हो। 

हेटौंडामा छठ पूजाका लागि राप्ती नदी तटमा छठघाट निर्माण गरिएको छ। छठ पूजालाई भव्य रूपमा मनाउन हेटौंडा–१, राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व मंगलबारबाट सुरु भएको हो। 

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ। पूजासामग्री तथा श्रद्धालुभक्तजनले राप्ति किनार भरिएको छ। छठ पूजाको लागि छठ पूजा मूल समारोह समितिले ६ सय फिट लामो पण्डाल तयार गरिएको छ। 

आजको दिनमा सूर्यलाई चढाउन ल्याइएको सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अर्घ्य दिइन्छ। यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad