बैतडीको पञ्चेश्वर गाउँपालिका–२, डिम्मरकी १७ वर्षीया किशोरी बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि अझै उनको अवस्था अज्ञात छ।
गत असोज २५ गते बिहानदेखि ती किशोरी बेपत्ता भएकी थिइन्। उनी हराएको आज २७ दिन बितिसक्दा पनि प्रहरीले कुनै सुराक पाउन सकेको छैन।
ती किशोरीलाई बेपत्ता पारेको आरोप लागेका महाकाली प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णराज जोशी भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।
किशोरी परिवारले व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालत पुर्याएको थियो। १३ कात्तिकमा अदालतले जोशीलाई पुर्पक्षका कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
किशोरीको खोजीका लागि गएको प्रहरी निरीक्षक पाण्डेय नेतृत्वको टोली फर्किएको छ। जिल्ला प्रहरी कार्यालयसँग निरन्तर समन्वयमा रहेर स्थानीय प्रहरीले किशोरीको खोजी निरन्तर उनले बताए।
प्रहरीले आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेकी हुन्।
गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन्। महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए।
किशोरीको परिवारले महाकाली प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णराज जोशीले छोरीलाई बेपत्ता पारेको आरोप लगायो। पानी पँधेरो एकै ठाउँमा भएकाले चिनजानपछि ती किशोरी र प्रहरी हवल्दारबीच हिमचिम बढेको थियो। हवल्दार जोशीको मोबाइलमा उनीहरूबीचको सम्बन्ध झल्किने तस्बिर भेटिएका थिए।
२५ गते बिहान भेट भए पनि आफूले किशोरीलाई बेपत्ता नपारेको जोशीले जिकिर गर्दै आएका छन्।
प्रहरी हवल्दारलाई किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीका प्रहरी जिल्ला मात्रै तानिएनन्, चौकी नै तत्कालका स्थान्तरण भयो।
वि.सं. २०५८ सालमा स्थापना भएको महाकाली प्रहरी चौकमा सईको नेतृत्वमा ४ जना प्रहरी बस्थे। त्यहाँका प्रहरी सईको फागुनतिर सरुवा भएपछि प्रहरी हवल्दार जोशीले इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए।
प्रहरीलाई किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीमा सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली पठाइएको थियो।
जिल्ला सुरक्षा समितिको बैठकले तत्कालका अर्को विकल्प नहुञ्जेलसम्म चौकी पञ्चेश्वरको कुलाउमा स्थान्तरण गरेको छ।
अतिविकट महाकाली किनारको डिम्मर गाउँमा नेपाली टेलिफोन पनि काम गर्दैन।
भारतीय सीमको प्रयोग गरेर त्यहाँका स्थानीय सञ्चार गर्ने गर्छन्। यातायात र सञ्चारको सुविधा नहुँनाले तत्कालका लागि महाकाली प्रहरी चौकीलाई कुलाउमा स्थान्तरण गरेको हो।
Shares

प्रतिक्रिया