आज (मंगलबार) राति तीनवटा प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।
यसबाहेक आज राति कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच आज राति काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना देखिएको छैन। मौसम भने आंशिक बदली हुने मौसम महाशाखाले जानकारी दिएको छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो (२६ देखि ५० प्रतिशतसम्म) बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको चाहिँ लगभग आकाश सफा (२५ प्रतिशत मात्र बादल लाग्नु) हो।
यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। एक/दुई स्थान भन्नाले जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्।
अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
Shares

प्रतिक्रिया