समाज


आईजीपी कुँवर बेलायत प्रस्थान

आईजीपी कुँवर बेलायत प्रस्थान

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ८:४९, काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन आज (आइतबार) बिहान संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन्। 

इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन कुँवर बेलायततर्फ प्रस्थान गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन्।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरे।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गर्ने प्रावधान छ। 

उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्यमा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनमाथि छलफल हुनेछ। 

त्यसैगरी इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा पनि छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदमा निर्वाचनसमेत हुने कार्यसूची छ। 

साथै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलद्वारा मित्रराष्ट्र चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad