नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सांस्कृतिक पर्व पनि हो। तिहारससँग गीत संगीतको अभिन्न सम्बन्ध छ।
र, तिहारलाई संस्कृतिसँग जोड्छ देउसी भैलोले।
यमपञ्चकका पाँच दिन मनाइने तिहारका अवसरमा गाउँदेखि सहरसम्म देउसी भैलो खेल्ने परम्परा छ।
बालकदेखि युवासम्म आ–आफ्नो समूह बनाएर मादल बजाउँदै देउसी भैलो खेल्ने गर्दछन्।
शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुग्दा देउसी भैलो खेल्नेहरूको लहर देखिन्थ्यो। स–साना केटाकेटीदेखि युवायुवतीसम्म विभिन्न समूह बनाएर सांस्कृतिक पहिरनमा देउसी भैलो खेलिरहेका थिए।
कतिपय स्थानमा विभिन्न राजनीतिक दलका भातृ संगठन तथा सामाजिक संघ संस्थाहरूले समेत देउसी भैलो खेलिरहेका छन्।
देउसी भैलो टोलीलाई आफ्नो गच्छेअनुसार नगद रकमसहित विभिन्न सामग्री दिने प्रचलन छ। विभिन्न संघसंस्थाहरूले देउसी खेलेर संकलन गरेको रकम सामाजिक काममा लगाउने गर्दछन्।
पछिल्लो समय देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो गर्न थालिएको छ। मादल, खैँजडी, मुजुरा जस्ता परम्परागत बाजागाजासहित देउसी भैलो भट्याउँदै नाच्नु देउसी भैलोको मौलिक परम्परा हो।
तर, पछिल्लो समय चर्को आवाज निकाल्ने डिजेले मौलिकतालाई विस्थापित गर्दै लगिरहेको बुढापाकाहरू बताउँछन्।













Shares

प्रतिक्रिया