समाज


१० महिना सिनियर सिंहलाई छाडेर अवकाश हुन लागेका ढकाल एआईजीमा सिफारिस

१० महिना सिनियर सिंहलाई छाडेर अवकाश हुन लागेका ढकाल एआईजीमा सिफारिस

एआईजीमा बढुवा सिफारिस भएका केदार ढकाल र डीआईजी दुर्गा सिंह।


नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ९:५८, काठमाडौँ

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार बेलुका बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्।

पहिलो नम्बरमा बढुवाका लागि सिफारिस गुरुङ हाल कार्यरत सबैभन्दा सिनियर डीआईजी हुन्। उनी हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै २०७९ असार ८ गते डीआईजीमा बढुवा सिफारिस भएका थिए। 

उनीभन्दा अगाडिका १४ जना प्रहरी अधिकारीमध्ये अशोक सिंहले विवादका कारण डीआईजीबाटै राजीनामा दिए भने पोषराज पोखरेल एआईजीमा सिफारिस भएर पनि डीआईजीबाटै अवकाश भए। बाँकी सबै एआईजी भइसकेका छन्।

उनीभन्दा पछाडि रहेकी किरण रानालाई पनि सरकारले यसअघि नै एआईजीमा बढुवा गरिसकेको छ। राणा एआईजीमा बढुवा भएको भोलिपल्टै अवकाश पनि भइसकेकी छन्। 

एकदिनअघि मात्रै एआईजी भएकी राणा र रामदत्त जोशीको स्थानमा गुरुङ र ढकाललाई बढुवा गर्न सिफारिस गरिएको हो। जोशी पनि यही साताबाट अवकाश हुनेछन्।

किरण राणालाई एक दिनका लागि एआईजीमा बढुवा गरेको सरकारले केदार ढकाललाई पनि करिब एकम महिनाका लागि मात्रै एआईजी बनाउने भएको हो। ढकालभन्दा १० महिना पहिले डीआईजी भएकी दुर्गा सिंहलाई भने छुटाइएको छ।

ढकाल मंसिर २१ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्। डीआईजीमै अवकाश हुन लागेका ढकाललाई एआईजी बनाउन सरकारले १० महिना सिनियर सिंहलाई बढुवा नगरेको हो। 

हाल गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी दुर्गा सिंह हालका प्रहरी महानिरीक्षकसँगै २०७९ असारमै डीआईजी भएकी थिइन्। तर २०७९ चैतमा डीआईजी भएका ढकाललाई सरकारले उनीभन्दा पहिले एआईजी बनाउने भएको हो। 

सिंहभन्दा पछाडि रहेकी किरण राणालाई पनि एआईजीमा बढुवा गरिसकिएको छ। उनको अवकाशपछि पनि सिंहलाई भने छुटाइएको छ। आगामी मंसिरमा दुई जना एआईजी अवकाश हुनेछन्।

ढकालसँगै उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्।

यता गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै नेपाल प्रहरीमा ८ जना डीआईजीका दरबन्दी रिक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad