अमेरिकाका लागि पूर्वराजदूत एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन भएको छ।
उनको ८३ वर्षको उमेरमा ललितपुरको सानेपास्थित निवासमै मंगलबार ५ बजे निधन भएको आफन्त एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
पछिल्ला केही वर्षयता सैँजु पार्किन्सनबाट पीडित थिए।
पाल्पाको तानसेनमा जन्मिएका सैँजुले वनरास हिन्दु विश्वविद्यालय, भारतबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। त्रिविबाट अर्थशास्त्रमा सर्वाधिक अंक प्राप्त गरी स्वर्ण पदक जितेका सैँजुले बेलायतको मेन्चेस्टर विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्समा तथा अमेरिकाको फुलब्राइट छात्रवृत्तिमा एकसाथ नाम निकालेका भए पनि देशमै काम गर्ने हेतुले सरकारी सेवामा जोडिन पुगेको आफ्नो पुस्तक ‘बुधबारेदेखि चाकुपाटसम्म’ मा उल्लेख गरेका छन्।
स्नातकोत्तर गरेको १० वर्षपछि मात्र उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरे।
राजा महेन्द्रको महत्त्वाकांक्षी राजनीतिक कार्यक्रम भूमिसुधारको परीक्षण कार्यान्वयनमा खटिएका खटिएका थिए। पहिलो चरणमा परीक्षणका रुपमा झापा, चितवन र पाल्पामा लागू गरिएको यस कार्यक्रमअन्तर्गत सैँजुले झापाको बुधबारेमा खटिएको टोलीको नेतृत्व गरेका थिए। तत्कालीन आर्थिक योजना मन्त्रालयले उनलाई राजपत्रांकित द्वितीय श्रेणीको अफिसर अन स्पेसल ड्युटीको पदसहित यो जिम्मेवारी दिएको थियो।
त्यतिखेर आर्थिक योजना मन्त्रालयका सचिव डा भेषबहादुर थापा थिए। सैँजु २२ वर्षका तन्नेरी थिए।
उनले सहसचिवसम्मको पदमा रहेर सरकारी जागिर गरे र विद्यावारिधिका लागि अमेरिका गए।

भूमिसुधारमा उनले गरेको कामबाट राजा महेन्द्र प्रभावित थिए। त्यसैले अमेरिकाबाट फर्केर पनि उनी खाली बस्नुपरेन।
सैँजुले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक तथा प्रशासनिक अध्ययन केन्द्र (सेडा) को प्रमुख विशेषज्ञका रूपमा काम गरे। लगत्तै उनी त्रिविकै शिक्षाध्यक्ष (रेक्टर) नियुक्त भए।
त्यसपछि उनी राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म भए। उनले १२ वर्षसम्म योजना आयोगमा रहेर देशको योजना तथा विकासको नेतृत्व तहमा रहेर बिताए।
योजना आयोगको उपाध्यक्षको कार्यकाल सकिएलगत्तै उनलाई पञ्चायतले अमेरिकाका लागि राजदूत बनाएर वासिङटन डीसी पठायो।
उनले स्वतन्त्र चिन्तन केन्द्र सर्वांगीण विकास अध्ययन प्रतिष्ठानको नेतृत्वसमेत गरे। गरिबी निवारण कोषको उपाध्यक्ष भए।
उनले लोक सेवा आयोगको परीक्षा दिनुपरेन। सरकारकै प्रस्तावमा उनले सरकारी जागिरमा प्रवेश गरे। पाँच वर्ष जति मात्र सरकारी जागिरमा रहे। त्यसपछि उनले सरकारी काम गरे तर प्रशासनिक पदसोपानमा बस्नुपरेन। एकपछि अर्को राजनीतिक नियुक्तिले उनलाई पछ्यायो।
पञ्चायतकालीन राजनीतिक नियुक्तिको एउटा विशेषता के थियो भने अहिलेजस्तो राजनीतिक दलहरुलाई रिझाउनुपर्दैनथ्यो। एउटा दलले नियुक्ति गरेपछि अर्को दल आएर काममा असहयोग गर्ला कि भन्ने चिन्ता तत्कालीन संस्थाहरुमा गर्नुपर्दैनथ्यो। प्रायशः योग्यताका आधारमा पद दिइन्थ्यो।
सैँजु आफ्नो काम र योग्यतामा विश्वास गर्थे। उनी आफूलाई सधैँ सक्रिय राखिरहन चाहन्थे। तर जीवनका अन्तिम केही वर्ष अनपेक्षित निष्क्रियतामा बिते। पार्किन्सनले उनलाई चल्न दिएन। ‘पछिल्लो समय त चेत पनि हराइसकेको थियो,’ कलाकार श्रेष्ठ भन्छन्, ‘कुर्सीमा बसिरहेकै बेला उहाँ बित्नुभयो।’
Shares

प्रतिक्रिया