समाज


नेपाल प्रहरीमा खाली हुँदै २ एआईजी, यी ४ डीआईजी मध्येबाट बढुवा गर्ने तयारी

नेपाल प्रहरीमा खाली हुँदै २ एआईजी, यी ४ डीआईजी मध्येबाट बढुवा गर्ने तयारी

डीआईजीहरू बुद्धिराज गुरुङ, दुर्गा सिंह, भरत बोहरा र केदार ढकाल


उजिर कार्की
कात्तिक १२, २०८१ सोमबार २१:१७, काठमाडौँ

नेपाल प्रहरीमा यही साता दुईजना अतिरिक्त महानिरीक्षकको दरबन्दी रिक्त हुने भएको छ। एआईजीमा सिफारिस भइसकेर बढुवा हुन बाँकी किरण राणा बिहीबार र रामदत्त जोशी शुक्रबार नै बिदा हुने भएका हुन्। 

दुवैजना एआईजी उमेर हदका कारण अवकाश हुन लागेका हुन्। 

एआईजी राणा अवकाशमा जाने भएपछि सरकारले एक तह बढुवा गरेर बिदा गर्न लागेको हो। उनीभन्दा पहिल्यै डीआईजी भएका बुद्धिराज गुरुङ र दुर्गा सिंह अझै बढुवा भएका छैनन्। सिंह गण्डकी प्रदेश प्रहरी प्रमुख र गुरुङ अख्तियार दुरूपयोग अनुसन्धान अयोगमा कार्यरत छन्। 

राणालाई कात्तिक ४ गते नै एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। सोमबार नियमित बस्ने मन्त्रिपरिषदको बैठक स्थगित भएकाले निर्णय हुन नसकेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोलाई बोलाइएको छ। उक्त बैठकले उनलाई एआईजीमा बढुवा गर्ने तयारी छ। मंगलबार एआईजीमा बढुवा हुने राणाले बुधबार दर्ज्यानी चिन्ह लगाउनेछिन् र भोलिपल्टै बिदा हुनेछिन्। 

जोशी र राणा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। उनीहरू कुँवरसँगै डीआईजीमा बढुवा भएका थिए। तर जोशी पनि केही महिनाअघि मात्रै एआईजी भएका हुन्। एकैपटक डीआईजीमा बढुवा भएकामा सिंह र गुरुङ मात्रै एआईजी बन्न बाँकी छन्। बाँकी एआईजी बनिसकेका छन् भने केही डीआईजीबाटै घर गएका छन्। 

अब रिक्त हुने एआईजीका लागि बुद्धिराज गुरुङ र दुर्गा सिंह नै सबैभन्दा बलिया दाबेदार हुन्। तर प्रहरी महानिरीक्षक भने उनीहरूलाई छाडेर अवकाश हुन लागेका दुई डीआईजीलाई एआईजीमा बढुवा गर्ने पक्षमा रहेको गृह मन्त्रालय स्रोतको दाबी छ। 

प्रहरी महानिरीक्षक कुँवर हाल प्रबन्ध महाशाखामा रहेका डीआईजी केदार ढकाल र ट्राफिक प्रहरी प्रमुख भरत बोहरालाई एआईजीमा बढुवा गर्नु पर्ने पक्षमा देखिएका छन्। 

ढकाल मंसिर २१ गते र बोहरा पुस १३ गते उमेरहदकै कारण अनिवार्य अवकाश हुँदैछन्। उनीहरू दुवैजना कुँवरका ब्याची हुन्। डीआईजीमा पछि परेका भए पनि अवकाश हुन लागेकालाई एआईजीमा बढुवा गर्नु पर्ने महानिरीक्षकको मत छ। 

उनीहरूको अवकाशपछि गुरुङ र सिंहलाई एआईजीमा बढुवा गर्ने प्रयास पनि भइरहेको छ। उनीहरू पनि आईजीपी कुँवरसँगै डीआईजीमा बढुवा भएका थिए। त्यतिबेला एकसाथ १७ जना डीआईजी भएकामा उनीहरू मात्रै बाँकी छन्। 

उनीहरू भने ३० वर्षे सेवा अवधिका कारण मात्रै अवकाश हुनेछन्। अहिलेकै ऐन÷नियमावली अनुसार आगामी चैत ४ गतेसम्म सेवामा रहन पाउनेछन्। 

यस्तै पुससम्ममा थप अरु एआईजी पनि अवकाश हुन लागेका छन्। एआईजी भीमप्रसाद ढकाल र किरण बज्राचार्य अवकाश हुन लागेका हुन्। तर त्यसअघि नै नयाँ ऐन आएमा अवकाशको व्यवस्था नै फेरिन सक्छ। 

यो साता रिक्त हुने २ एआईजी बढुवा गरेसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको दरबन्दी ८ पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad