समाज


नेपाली युवा प्रदिप परियारले जिते योङ ग्लोबल लिडर्स अवार्ड

नेपाली युवा प्रदिप परियारले जिते योङ ग्लोबल लिडर्स अवार्ड

नेपालखबर
फागुन २८, २०७६ बुधबार १५:५७,

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ।

मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन्। विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो।

परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन्। बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ ‘युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु-याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो।’ यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए। थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन्।

वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ। पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, ‘मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो।’

हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन्। समता फाउण्डेसन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेज्ञता हासिल गरेको अग्रणी थिङ्कट्याङ्क हो।
परियार भन्छन्, ‘यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवद्र्धनका लागि झन् दृढ भई अघि बढ्ने प्रेरणा मिलेको छ।’

परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए। उनी सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन्। परियारले सन् २०११ मा नेपालको पहिलो युवामैत्री बजेट, राष्ट्रिय युवा नीति (२०१५) र युथ भिजन २०२५ ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका छन्।

संयुक्त राष्ट्र संघको युवा, शान्ति र सुरक्षा सम्बन्धी पहिलो सङ्कल्प प्रस्तावको मस्यौदामा पनि परियारको भूमिका छ। उनले खासगरी सामाजिक समावेशीकरणको दृष्टिकोणबाट युवाका आकांक्षा एवं अनुभवहरू प्रस्तुत गरी त्यो मस्यौदालाई आकार दिन सहयोग पु-याएका थिए। सन् २०१८ मा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय, जेनेभामा जातीय विभेद उन्मूलनसम्बन्धी समितिबारे छायाँ प्रतिवेदन बुझाउने टोलीमा पनि परियार संलग्न थिए।

परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ । विश्वभरि उनले दुई हजारभन्दा धेरै युवालाई प्रशिक्षण दिएका छन्। युवा, शान्ति र मिडियासम्बन्धी मुद्दाबारे परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रस्तुत गर्दै आएका छन्।
वाइजिएल २०२० अवार्ड फोरम अफ योङ ग्लोबल लिडर्स स्वतन्त्र गैरनाफामुखी फाउण्डेसन हो। संस्थाले विश्वको विविधतायुक्त, क्रियाशील र प्रतिनिधि नेतृत्वलाई पाँच वर्षे व्यक्तिगत नेतृत्व विकास कार्यक्रममा सहभागी गराउने गर्दछ।

संस्थासँग सयभन्दा धेरै देशका १,३०० सदस्य र आलुम्नाइ आबद्ध छन्। वाइजिएलहरू सरकार र फच्र्युन ५०० कम्पनीको नेतृत्व गर्छन्। उनीहरू नोबेल पुरस्कार र एकेडेमी अवार्ड पाउनुका साथै संयुक्त राष्ट्र संघको सद्भावना दूतका रूपमा पनि सेवा गर्छन्। प्रत्येक वर्ष हजारौं उम्मेदवार सार्वजनिक रूपमा मनोनित हुन्छन्। वास्तविक प्रतिनिधिमूलक निकाय सिर्जना गर्ने उद्देश्यले उम्मेदवारलाई एउटा छनोट समितिले मुल्याङ्कन गर्दछ जसले प्रत्येक वर्ष १००–१५० जना नयाँ सदस्यलाई छनोट गर्दछ।

युवा नेतृत्वले दिगो भविष्यको जिम्मेवारी लिन सक्ने विश्व सिर्जना गर्नु फोरमको लक्ष्य हो। विभिन्न क्षेत्र, विचार र पहिचानबीच सम्बन्ध निर्माण गर्न र हाल विद्यमान विभाजनबीच विश्वास हासिल गर्न यसले जिम्मेवार नेताहरूको समुदाय विकास गर्दछ। दिगो अर्थतन्त्र र समाज निर्माण गर्न फाउण्डेसनले नेताहरूको अन्तर्दृष्टि र क्षमता अभिवृद्धि गर्न लगानी गर्दछ। विश्वभरि नेतृत्वशक्ति कस्तो बनाउने भन्नेबारे प्रकाश पार्न उनीहरूको कथा पनि संस्थाले सुनाउँछ।

विश्व आर्थिक मञ्चले ११ मार्च (बुधबार) २०२० मा नेपाली समय ३ः४५ बजे वाइजिएल २०२० अवार्ड घोषणा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad