सशस्त्र प्रहरीले धनुषा जिल्लाको विदेह नगरपालिका १ ढाला चोकबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेश मण्डल र २८ वर्षीय राजेशकुमार चौधरी छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
ज ९ प ६६४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्फेट १४ बोतल, नाईट्राभेट ट्याब्लेट ६० वटा र स्पामो प्रोक्सिभन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएको हो।
त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टिबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विन्दावासीनी गाउँपालिका ३ झौवाबाट करीव दुई केजी दुई सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ बस्ने ४५ वर्षिय देवेन्द्र यादव छन्। एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

प्रतिक्रिया