समाज


प्रहरीले ३४ दिन हिरासतमा राख्नसक्छ रवि लामिछानेलाई

प्रहरीले ३४ दिन हिरासतमा राख्नसक्छ रवि लामिछानेलाई

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १८:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार नै पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालत समक्ष पक्राउ अनुमति माग गरेको थियो। 

प्रहरीको माग अनुसार बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएको भन्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ। 

ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको अनुसन्धानको लागि लालचन्द्र लामिछानेका छोरा काठमाडौँ महानगरपालिका ६ स्थायी वतन भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तिगौंडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक ४९ वर्षको रवि लामिछानेलाई पक्राउ गरेर पठाइदिन कास्की प्रहरीले सीआईबीसहितका कार्यालयलाई पत्राचार गरेको छ। 

पत्र प्राप्त भएलगतै विभिन्न कार्यालयका प्रहरी अहिले रास्वपाको कार्यालयमा पुगेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पक्राउ गर्न पुगेको छ। 

शुक्रबार नै पक्राउ परे लामिछानेले ३४ दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ। संगठित अपराधमा समेत उनीविरुद्ध मुद्दा अगाडी बढाउन प्रहरीले अनुमति लिएको छ। ससंगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

तर यसअघि असोज ६ गते पक्राउ परेका छविलाल जोशीसँगै मुद्दा दायर हुने भएकाले उनीहिरासतमा बसेको मितिबाट ६० दिन गणना हुन्छ।

जोशी २७ दिनदेखि हिरासतमा छन्। उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ। 

अब लामिछाने लगायत १४ जना आरोपिहरुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाइसकेकाले उनीहरुलाई पनि पक्राउ गर्दै प्रहरीले ६० दिनभित्रमा अनुसन्धान सकेर मुद्दा अदालत बुझाइसक्नुपर्छ। 

उनीहरुविरुद्ध गत माघमा कृष्णप्रसाद जैशी लगायतका सूर्यदर्शन सकहकारीका पीडितले पुरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि जिबी भन्ने गितेन्द्रबाबु राईसहितविरुद्ध मुद्दा दायर भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad