अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
अख्तियारका अनुसार आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्ने प्रतिवादी लेखा पनेरु महत भएको मुद्दामा घुस बापतको रकम राखिदिने भावना महतलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरेको थियो।
विशेष अदालत समक्ष वकपत्र गर्दा प्रतिकूल हुने गरी बकपत्र गरेकोले निज भावना महतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसूरमा मतियार भएको हुँदा निजउपर १ लाख ५० हजार बिगो कायम गरी राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
विशेष अदालतले उनलाई २०८० माघ १२ गते सफाई दिएको थियो।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी विभिन्न आधार लिई अख्तियारले सर्वोच्च अदालतमा यही कात्तिक २ गते पुनरावेदन गरेको स्पष्ट पारेको छ।
Shares

प्रतिक्रिया