कारोबार


अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने

अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १६:४२, काठमाडौँ

इन्टरनेटविना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गरिने भएको छ। 

नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी)सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो। 

सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो। 

प्रतिवेदनले इन्टरनेटविना नै भुक्तानी गर्न मिल्ने गरी सहुलियत दरमा यूएसएसडी पेमेन्ट कार्यान्वयनमा ल्याउन सकिने उल्लेख गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा सञ्चालित नमस्ते पेबाट भुक्तानी महंगो र झन्झटिलो हुँदा सेवा प्रभावकारी नभएको भन्दै कम लागतमा भुक्तानी गर्न सकिने व्यवस्था गर्न भनेको छ।

बढ्दो मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङसँगै नेपाल साइबर आक्रमणको खतरा पनि बढ्दै जाँदा यस किसिमको भुक्तानीले लाभग्राहीको वित्तीय सुरक्षामा मद्दत पुर्‍याउने अध्ययनको निष्कर्ष छ। 

नेपाल अहिले साइबर सेक्युरिटी इन्डेक्समा १०९औँ स्थानमा छ। वित्तीय भुक्तानीलाई अफलाइन केन्द्रित बनाउँदा साइबर सेक्युरिटीको वरीयतामा समेत सुधार हुने भन्दै सरकारले नै यस प्रकारको भुक्तानीलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख छ। 

नेपालका ७३ प्रतिशत घरपरिवारले सामान्य मोबाइल फोन प्रयोग गर्ने र ७२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्दै आएका छन्। कुल ६६ लाख ६६ हजार घरपरिवारले स्मार्ट फोनसँगै सामान्य फोन पनि प्रयोग गरिरहेकाले अफलाइनमा आधारित भुक्तानी सेवाको सम्भावना बढी रहेको अध्ययनले देखाएको छ। 

यस किसिमको सेवाले वित्तीय सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रमा मानिसहरुलाई समेत डिजिटल बैंकिङमा समेट्न सकिनेछ। 

प्रतिवेदनले नगद प्रवाहमा आएको कमीलाई अवसरको रुपमा लिँदै ग्रामीण क्षेत्र तथा इन्टरनेटको पहुँचमा पुग्न नसकेको क्षेत्रलाई समेत यो सेवाबाट बैंकिङ क्षेत्रमा समेट्न सकिने निष्कर्ष निकाल्दै यूएसएसडी पेमेन्ट सिस्टमलाई स्तरोन्नति गर्दै कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।

(यूएसएसडी सिस्टम : यूएसएसडी मोबाइल सञ्चार (जीएसएम) प्रोटोकलका लागि विश्व प्रणाली हो। टेक्स्ट मेसेज पठाउनका लागि यो प्रणाली प्रयोग भइरहेको छ। यूएसएसडी छोटो सन्देश (एसएमएस) जस्तै हो। यसले मोबाइल फोनमा उपलब्ध हुने विभिन्न अक्षरसंकेतले बनेका कोडहरु प्रयोग गर्छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad