समाज


अन्तर्राष्ट्रिय समुदायबाट नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा

अन्तर्राष्ट्रिय समुदायबाट नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा

फाइल फोटो/ महिला स्वास्थ्य स्वयम्सेविका


नेपालखबर
असोज २९, २०८१ मंगलबार २१:०, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ रहेका उनले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गरेका हुन्। मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्दै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताए।

जवाफमा महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिए।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गरे। त्यस अवसरमा उनले बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि नेपालले प्रयास गरिरहेको र यस कार्यमा आवश्यक खोप सहयोगका लागि आग्रह गरे। मन्त्री पौडेलले डेङ्गीलगायत छ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन उहाँमार्फत विश्व समुदायको ध्यानाकर्षण गराए।

यसैगरी उनले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्ताका क्रममा नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार कार्यलाई अगाडि बढाउने बताए। जर्मन स्वास्थ्यमन्त्री कार्लले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए।

नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा
विश्व स्वास्थ्य क्षेत्रका सरोकार भएकाहरूले नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा सुधार भइरहेको भन्दै प्रशंसा गरेका छन्।

विश्व स्वास्थ्य शिखर सम्मेलनको एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको दूरदराजमा क्रियाशील ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र मातृशिशु स्वास्थ्य सुधारका लागि उदाहरणीय काम गरेको बताए। उनीहरूकै प्रभावकारी भूमिका र योगदानका कारण मातृशिशु मृत्युदर कम गर्न सकिएको उल्लेख गरे।

मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गरेका थिए। त्यस अवसरमा युनिसेफका उप कार्यक्रम निर्देशक ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित बनाउन र उनीहरूको सशक्तीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा अब्दीले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्दै यस कार्यमा सहयोग गर्न आफूले पहल गर्ने विश्वास दिलाएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad