समाज


थारु बस्तीमा ‘सखिया नाच’को रौनक

थारु बस्तीमा ‘सखिया नाच’को रौनक

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँमा सख्या नाच नाच्दै। तस्बिरः रासस


नेपालखबर
असोज २७, २०८१ आइतबार १७:३२, काठमाडौँ

बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ। दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो।  

दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ। गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन्।

थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने टिटिहिरीयाका थारु अगुवा केवलसिंह थारुले बताए। दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरी नाचिने उनले सुनाए।

उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन्। जति धेरै मादल बज्यो त्यति रौनक आउँछ। १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन्।

सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए।

उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad