समाज


२६ वर्षपछि जगतीपुरबाट जाजरकोट दरबारमा भित्र्याइयो फूलपाती

२६ वर्षपछि जगतीपुरबाट जाजरकोट दरबारमा भित्र्याइयो फूलपाती

नेपालखबर
असोज २४, २०८१ बिहिबार १६:४९, सुर्खेत

२६ वर्षपछि पुरानो राजधानी जगतीपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ।  

हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो। जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दसैँको सप्तमीमा जगतीपुरबाट भित्र्याउने चलन बन्द भए पनि यसलाई फेरि जगतीपुरमै लिने पहल गरिएको थिएन।

सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलाई खलङ्गाको कालिका मन्दिरमै राखिएको थियो। द्वन्द्व समाधान भए पनि स्थानीय सरोकारवालाको बेवास्ताका कारण खड्गलाई जगतीपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो।

यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतीपुर दरबार क्षेत्रको खड्ग देउताको मन्दिरमा लगिएको थियो। प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले यस वर्षदेखि जगतीपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आज जगतीपुरका स्थानीयले  विधि प्रक्रिया पुर्‍याएर पुरानै परम्पराअनुसार बाजासहित जाजरकोट दरबारमा ल्याएको खड्ग देउता ग्रहण गर्न जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसहितका सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार सर्वसाधारण विशेष तयारीका साथ शान्ति चौतारा जम्मा भएका थिए।

जगतीपुरबाट ल्याइएको खड्ग देवतालाई बाजागाजासहित शान्ति चौतारामा भव्य स्वागत गरिएको थियो। त्यसपछि गैरीखालीमा पुगी बजुको मन्दिर छेउमा पुजा अर्चना गरियिो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाजरकोटकी देवी कालिका, मालिका र भगवतीलाई सलामी दिएका थिए।

उक्त पुजा र सलामी पछि ठूलो सङ्ख्यामा रहेका सर्वसाधारण, सुरक्षाकर्मी र अन्य व्यक्तिको सहभागितामा उक्त खड्ग र फूलपातीलाई जाजरकोट दरबार पुर्‍याएको थियो। दरबार पुर्‍याइएको खड्ग र फूलपातीलाई विशेष पुजासहित जाजरकोट दरबारको जमराघरमा भित्र्याइएको थियो। सो अवसरमा पुनः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले  सलामी दिएका थिए।

जाजरकोटको इतिहास मौलिकता र संस्कृति जोगाउनको लागि आफूहरूले २६ वर्षपछि जगतीपुरबाटै ल्याउने चलन सुरु गराउन पहल र समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए।

अध्यक्ष केसीले जगतीपुरका स्थानीय सरोकारवाला, खलङ्गाका स्थानीय सरोकारवाला, जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सुरक्षा निकाय र सबैको सल्लाहमा यो वर्षदेखि पुरानो परम्परालाई निरन्तरता दिने काम गरिएको बताए।

यस्तै, जाजरकोटी मौलिकता र परम्परालाई पुरानै शैलीमा निरन्तरता दिन यस पटकदेखि जगतीपुरबाट खड्ग देवता जाजरकोट दरबारमा ल्याउने कार्य गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए। यस्तै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहका पनाति प्रवेशविक्रम शाहले पुरानो परम्परालाई निरन्तरता दिने काम भएकोमा खुसी व्यक्त गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad