समाज


ग्रामीण सडक पहिरोले अवरुद्ध भएपछि काभ्रेको मगर गाउँमा ड्रोनमार्फत् पठाइयो खाद्यान्न

ग्रामीण सडक पहिरोले अवरुद्ध भएपछि काभ्रेको मगर गाउँमा ड्रोनमार्फत् पठाइयो खाद्यान्न

नेपालखबर
असोज २१, २०८१ सोमबार ८:४९, काभ्रे

गत साता परेको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

आइतबारदेखि ‘हामी टिम नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो।

आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए। उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ। भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए।

उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ। आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताए।

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो। सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ।

‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ। नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ’, उनले भने। उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ। त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्यांक संकलनसमेत भएको हुमागाईँले बताए।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ। घटनामा ७५ जना घाइते भएका छन्। यो संख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने संख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो।

तथ्यांकअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad