ad ad

समाज


अस्पतालको बेडबाट नख्खुमा बेपत्ता बहिनी खोज्दै छिन् मेघना, जवाफ दिन सक्दैनन् राजु

‘कान्छी छोरी भेटिन्छिन् कि भनेर नख्खु खोलाको निकै तलसम्म हेरेर आएँ, तर, भेटिइनन्’
अस्पतालको बेडबाट नख्खुमा बेपत्ता बहिनी खोज्दै छिन् मेघना, जवाफ दिन सक्दैनन् राजु

पाटन अस्पतालमा मेघनाको साथमा बुवा राजु र काका राज


सागर न्यौपाने
असोज १३, २०८१ आइतबार २१:३९, काठमाडौँ

‘सेतु हेर्न जाऊँ न!’

पाटन अस्पतालको बेड नम्बर ३५२ मा बसेकी मेघना बुबा राजु साहलाई कर गरिरहेकी छिन्।

उनको एकोहोरो जिद्दीसामु राजु केही बोल्न सक्दैनन्। थुम्थुम्याउन भनिरहन्छन्, ‘अहिले एकछिनमा जाने ल!’

मेघनाले खोजिरहेकी सेतु उनकै चार वर्षीया बहिनी हुन्। जसलाई शनिबार नख्खु खोलाले बगाएको थियो।

बग्दै गरेकी ६ वर्षकी मेघनालाई भने शनिबार उर्लंदो बाढीबाट उद्धार गरिएको थियो।

बहिनीलाई बाढीले बगाएको खबर मेघनालाई थाहा छैन। 

डाक्टरले कम्तीमा ४८ घण्टा अब्जरर्भेसनमा राख्नुपर्ने भनेपछि मेघना अस्पतालमै छिन्। खुट्टाको बुढी औँलामा लागेको चोटबाहेक देखिनेगरी अरु घाउचोट उनलाई छैन।

तर, उनलाई बहिनीको धेरै याद आइरहेको छ। घर गएर बहिनी हेर्न उनलाई हतारो छ। त्यही भएर बुबा राजुसँग कर गरिरहेकी छन्।

राजुसँग प्रष्ट जवाफ छैन। न त उनले अब सेतु कहिले भेटिँदैनन् नै भन्न सकेका छन्।

‘कान्छी छोरी सेतु भेटिन्छिन् कि भनेर आज नख्खु खोलाको निकै तलसम्म हेरेर आएँ,’ राजुले नेपालखबरसँग भने ‘तर, भेटिइनन्।’

दुईवटी छोरीलाई आफैसँग राखेर हुर्काइरहेका राजुमाथि यसपटकको वर्षाले बज्रपात निम्त्यायो।

भेलले छोरी बेपत्ता बनायो। 

१० लाख लगानी गरेर बनाएको ग्रिल कारखाना बगायो। बसेको टहरो बगाउँदा ४० हजार नगद र महत्त्वपूर्ण कागजात पनि बगायो। अनि, बगायो छोरीको सुन्दर भविष्यका लागि साँचेका सपनाको महल।

‘मेरी छोरी सेतु हराएकी छ, ऊ नहुँदा मेरो जीवन व्यर्थ हुन्छ। आज छोरीलाई बगाउने खोला सबैतिर गएर खोजेँ, तर उनी भेटिइनन्,’ टिलपिल आँखा पार्दै राजुले मसिनो स्वरमा भने, ‘मेरो जस्तो बिजोग दुस्मनलाई पनि नहोस्।’

असोज १२ गते शनिबार बिहान राजु, छोरीहरू मेघना र सेतु तथा उनका भाइ राजलाई नख्खु खोलाले एकैपटक बगायो। राजुको भाइले जेठी छोरी मेघनालाई समाएका थिए। कान्छी छोरी सेतुलाई राजुको साथी देवराज कार्कीले समाएका थिए।

नख्खुको टहरोभन्दा पाँच सय मिटर मुनिबाट राज र मेघनालाई चणिकलाल तामाङले उद्धार गरे। 

राजु त्यो भन्दा अझ तलबाट आफैँ उत्रिन सफल भए। तर, सेतु र देवराजको ३४ घण्टा बितिसक्दा पनि अत्तोपत्तो छैन। तर, राजुलाई अझै सेतु भेटिने विश्वास छ।

‘म नख्खु भेलको बीच भँगालोमा परे पनि देवराज र कान्छी छोरी छेउतिरै पुग्छ र मानिसले भेट्छ जस्तो लागेको थियो,’ उनले थपे, ‘मैले कसैको केही बिगारेको छैन होला, नत्र त अहिले म पनि नर्क पुगिसक्थेँ होला नि!

आफ्नो सन्तान नदेख्दा उनी बेचैन छन्। आँखा राता भएका छन्।

खोलाबाट उद्धार गरेर उपचारका लागि ल्याइएको उनलाई शनिबार बेलुकै डिस्चार्ज गरिए पनि मेघनाको हेरचाहका लागि दुवै जना अस्पताल बसेका छन्।

काम नलागेको हारगुहार
शनिबार बिहान ५ बजे उनीहरू बसेको टहरोमा पानी पस्यो। ललितपुर महानगरपालिका वडा नम्बर १४ र २५ को बीचमा पर्ने सो टहरो नख्खु खोलाबाट पचास मिटर टाढा थियो।

नख्खुखोलाको छेउमा लेले पुग्ने सडक थियो। करिडोर र त्यसपछि टहरा भएकोले खोला पसिहाल्छ भनेर राजुले सोचेकै थिएनन्।

त्यही भएर उनले शुक्रबार (असोज ११) राति नै टहरो छोड्ने योजना बनाएर पनि पछि हटे। त्यसमाथि देवराजले भरोसा दिएका थिए। 

‘यहाँ हत्तपत्त खोला आउँदैन, यदि आयो भने पनि ऊ त्यो पारि रहेको टहरोमा बसौला,’ देवराजले दिएको आँट उधृत गर्दै राजुले भने, ‘यो मध्यराति कस्कोमा गएर बस्नु?’

तर, शनिबार बिहान खोलाको सतह बढ्दै बढ्दै आयो। सुरुमा करिडोर हुँदै राजुको कारखाना रहेको ठाउँ डुबायो। 

त्यहाँबाट उनीहरू बिहान पाँचबजेतिर सुरक्षित हुन गंगालाल मगर भन्ने व्यक्तिको अर्काे टहरोमा गएको भाइ राज साह बताउँछन्। त्यो टहरो खाली थियो। 

‘अर्काे टहरो कम्तीमा ७ फिट माथि थियो,’ राजले भने, ‘त्यसमाथि त्यो टहरामा ढुङ्गाको पर्खाल लगाएको थियो। पानीले फुटाउँदैन भनेर त्यहाँ गयौँ।’

माथि तिरबाट बढ्दै आएको खोलाले कारखाना, ब्लकसहितका तीनवटा टहरोको जस्ता बगाउन थालेपछि राजु र राज आत्तिए। 

हामी बसेको टहरोमा १५-२० मिनेटजति त पानी आइसकेको थिएन, ‘तर, कारखाना र टहरोहरू बगाउन थालेपछि चाहिँ निकै डर लाग्न थाल्यो। अनि प्रहरीको सय नम्बरमा फोन गर्न थाल्यौँ,’ राजुले भने, ‘तर, प्रहरीको फोन लागेन।’ 

दुईवटी छोरीलाई जोगाउने चिन्ता उनलाई हुन थाल्यो। तर, देवराज पटक्कै डराएनन्। कुनै हालतमा खोला टहरोमा नआउनेमा उनले विश्वस्त पारिरहे।

राजले बताएअनुसार बिहान ७ बजेतिर खोला हेर्न आउने मान्छेको चहलपहल देखियो। खोलाले टहरोलाई दुवैतिरबाट घेर्न थाल्यो। भित्र पानी भरिँदै आयो। 

‘अनि जस्ता फुटाएर माथि बस्न थाल्यौँ, पहिला दाइ, दुईवटी छोरी, साथी गएपछि अन्तिममा म पनि जस्ताको छानामा चढेँ। पानी ५-६ फिटमुनि नै थियो, अब त सुरक्षित होइन्छ भन्ने भयो,’ राजले भने, ‘त्यसबेलासम्म पनि देवराजले हिम्मत दिनुभयो। पानी घट्छ, हामी निस्कन्छौँ भन्नुभयो, ८ बजेसम्म त्यही बस्यौँ।’

तर, नख्खु खोला घट्ने कुरै थिएन। झन् उर्लिरहेको थियो।

बसेको टहरोले कुनै पनि बेला बगाउने डरले राज आत्तिए। उनले ८ बजेर २१ मिनेटमा जग्गाधनी सुरज केसीलाई फोन गरेर मद्दत मागे। 

‘दाइ हामीलाई जसरी पनि यहाँबाट उद्धार गरिदिनुस् भनेर अनुरोध गरेँ। उहाँले प्रहरी आउँछ भन्नुभयो,’ राज भन्छन्, तर, उद्धार हुने नदेखेपछि पहिला काम गरेको साहु मिश्रीलाल श्रेष्ठलाई कल गरेँ र भनेँ– अब हामी बाँच्दैनौँ होला, खोला धेरै माथि आइसक्यो।’

निरन्तर वर्षा भइरहेकोले जस्तामाथि चढेका उनीहरू निथ्रुक्क भिजिसकेका थिए।

‘पानी निकै चिसो थियो, हामी काँपिरहेका थियौँ, अनि मैले कुनै फोन उठाउन सकिनँ,’ राजले सम्झे।

डोरी चुँडियो, पाँचैजना बगे खोलामा
सामाजिक सञ्जालमा उनीहरू फसेको भिडिओ भाइरल भइसकेको थियो। उद्धारका लागि प्रहरी पुगेको पनि हो। तर, गडगडाएर उर्लिएको नख्खु खोलामा पस्ने हिम्मत उनीहरूले गर्न सकेनन्।

एकजनाले डोरी ल्याएर क्रेटमा बाँधेर दिएका पनि हुन्। तर, क्रेट उनीहरू भए ठाउँमा पुगेन।

फेरि डोरी पठाइयो। त्यसलाई राजुले समाते। अब भने उद्धार हुनेमा उनीहरू आशावादी थिए। 

राजुले सबैलाई भने– कुनै हालतमा डोरी नछोड्ने। त्यही सल्लाह अनुसार राजु–राज र देवराजले डोरी समाते। 

जेठी मेघनालाई राजले समाते भने कान्छी सेतुलाई देवराजले।

तर, त्यही बेला ठूलो रुखको मुढो आएर टहरोमा ठोक्कियो। जस्ता भत्कियो। सल्लाह गरेअनुसार समातेको डोरी पनि चुँडियो। अनि राज र मेघना, राजु र देवराज र सेतु छुट्टिए। अनि पाँचैजना उर्लंदो भेलमा बगे। 

हात नछोडेरै जोगिइन् मेघना 
खोलाले एकैपटक हुत्याएर बीचमा लग्यो। काका राजले मेघनाको दाहिने हात बेस्सरी समाए।

दाइ, कान्छी छोरी र देवराज बगेर अलि तलै पुगेको उनले देखे।

‘खोलाको किनारतिर पुगिसकेको देखेर उहाँहरू बाँच्छन् जस्तो लाग्यो,’ २७ वर्षीय राजले भने, ‘म बाँच्दिन होला, मरे पनि सँगै मरौला भनेर मेघनाको हात झन् बेस्सरी समाएँ। पाँच सय मिटर जति तल पुगेपछि छेउमै पुगेको जस्तो भयो। मानिसहरूले ऊ बंगुर ल्यायो बंगुर भनेर लिन आए, उद्धार गरे।’

उनीहरू दुईजनालाई उद्धार गर्ने साहसी युवा हुन् काभ्रे तेमालका चणिकलाल तामाङ। कसले बाहिर निकालेको उनलाई सम्झना छैन। तर, बाहिर ल्याएपछि धेरैजना जम्मा भइसकेका थिए।  

‘मेघनाले धेरै पानी खाएको भएर हत्तपत्त पेटको पानी निकाल्नुभयो। मेरो त शरीरमा कुनै इनर्जी नै थिएन,’ उनले भने, ‘खोलाभित्र ढुङ्गा, मुढाले लाग्यो। खुट्टामा पाँच वटा टाँका लगाएको छ।’ 

खोलाको वेगले हुत्याएपछि आफैँ किनारामा आइपुगेका राजुको शरीरमा कुनै चोटपटक छैन। 

बाँच्ने आसै थिएन
‘एकैपटक खोलामा पर्दा बाँच्ने आस मारिसकेको थिएँ,’ राजले भने, ‘मेरो एउटै इच्छा मेघनालाई सके जोगाउने, नसके सँगै मर्छु भन्ने भयो।’

राजु भने दिमाग शून्यमा गएको बताउँछन्। 

‘केही सोच्नै सकिनँ, हामी कारखानामा काम गर्नेले थुप्रै दुर्घटना देखेका छौँ भोगेका पनि छौँ, तर, खोलामा परेपछि मैले केही थाहै पाइनँ,’ राजुले भने, ‘३-४ मिनेट दिमागले कामै गरेन। केही सोचिनँ, खाली बच्चा कहाँ छ, भन्ने मात्र भयो। आँखाले केही देखेन।’ 

रौतहट जिल्ला वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दियाबाट २०६८-०६९ सालतिर काठमाडौँ आएका राजु २०७५ सम्म कपन बस्थे। त्यसपछि मात्र उनी ललितपुरको वडा नम्बर १४ मा पर्ने सो क्षेत्रमा बस्न थालेका हुन्। 

सुरुमा अरुकोमा बसेर मिस्त्री काम गरेका राजुले २०७९ सालमा आफैँले लगानी गरेर फलामको काम गर्ने कारखाना खोले। सात वर्षको लागि जग्गा भाडामा लिएर कारखाना चलाइरहेका राजुले पछि भाइ राजलाई पनि सँगै राखेका हुन्।

तीन दाजुभाईमध्ये माइलो गाउँमै बस्छन्। 

राज पोर्चुगल जाने सबै प्रक्रिया पूरा गरेर बसेका छन्।

अन्तर्वार्ताको काम सकिएको उनले बताए। तर, टहरासँगै उनको पासपोर्ट, नागरिकता बगेकोले आर्थिक चिन्ताले उनलाई सताएको छ।

‘अस्पतालबाट निस्केपछि कहाँ बस्ने? के खाने? नयाँ काम सुरु गर्न सकिँदैन, जानेको काम गर्ने सबै सामान बाढीले बगायो,’ राजुको चिन्ता छ।

अघिल्लो दिन मात्र लिएका थिए एड्भान्स ३० हजार
ग्रिलको काम गर्नको लागि एउटा विद्यालयसँग एड्भान्सस्वरूप असोज १० गते ३० हजार लिएको उनले बताए।

‘भोलिपल्ट बजारबाट फलाम ल्याउने योजना थियो तर पानी परेपछि आइतबार सारेको थिएँ, शनिबार सबै कारखाना बगाएर सखाप पा¥यो,’ उनी भन्छन्, ‘लाखौँको सामान र मेरी सहारा नख्खु खोलामा बेपत्ता छिन्।’

अहिले खोला धार बदलेर उनीहरूको टहरो भएको ठाउँबाट बगिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .