ad ad

समाज


अख्तियारले पहिलोपटक दायर गर्‍यो सम्पत्ति शुद्धीकरण मुद्दा

लुम्बनी विकास कोषका इन्जिनियरद्वारा ठेकेदारबाट लिएको १ करोड ८५ लाख घुस जग्गामा लगानी
अख्तियारले पहिलोपटक दायर गर्‍यो सम्पत्ति शुद्धीकरण मुद्दा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १८:४३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपल्ट सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।

अख्तियारले लुम्बनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो। 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार खोसेपछि पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो।

संशोधित कानुनी व्यवस्थाअनुसार, कुनै निकायले अर्कै अपराधमा अनुसन्धान गर्ने क्रममा गैरकानुनी सम्पत्तिको चलखेल भएको फेला पारेमा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरी मुद्दा अघि बढाउन सक्छ। अब यो अधिकार अख्तियारदेखि जिल्ला प्रहरी कार्यालयहरू, भन्सार, राजस्व लगायतका निकायले पनि प्रयोग गर्न पाउनेछन्। 

भट्टराईविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसअघि अख्तियारले नै दायर गरेको मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद सजाय सुनाइएका भट्टराईविरूद्ध बिहीबार १ करोड ८५ लाख रूपैयाँ घुस लिएको भन्दै दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु-३ स्थित कित्ता नं १३७४ को क्षेत्रफल २ रोपनी ९ आना र कित्ता नं १३७५ को क्षेत्रफल २ आ १ पैसा भएको जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा कार्य गरिरहेका निर्माण कम्पनीहरूबाट लिएको घुसवापतको रकम प्रयोग गरेको अख्तियारको दाबी छ।

ठेकेदारबाट प्राप्त घुस रकम बीचका अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। विभिन्न ठेक्का सम्झौता हुँदा सरोज भट्टराईले मूल्यांकन समितिको संयोजक, सदस्य एवं योजना प्रमुखसमेत रही मिलेमतोमा काम गरेको पाइएको छ।

उनले बाबुल निर्माण सेवासँग घुसवापतको रकम पठाउन भनी बैंक खाता नम्बरहरू उपलब्ध गराएको र उक्त निर्माण सेवाका प्रोप्राइटरले ८० लाख रकम जम्मा गरेको पाइएको छ। त्यस्तै अर्घाखाँची-बाबुल जेभीको खाताबाट विभिन्न बैंक खातामा १ करोड ५ लाख रुपैयाँ घुसवापतको रकम लिएको देखिएको छ। भट्टराईले त्यही रकमबाट हालको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको अख्तियारको दाबी छ।

यस घुस लिई भ्रष्टाचारजन्य कसुर गरी आर्जन गरेको १ करोड ८५ लाख रूपैयाँ गैरकानुनी स्रोत लुकाउने वा छल्ने उद्देश्यले जग्गामा लगानी गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको हुँदा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले घुस रकमबाट किनेको उक्त जग्गा जफत गर्न पनि अदालतसमक्ष माग गरेको छ।

सरोज भट्टराईको घुस खाने र अवैध रकम लुकाउने तरिकाबारे अख्तियारले बनाएको फ्लो चार्ट हेर्नुहोस्

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .